कावासोती । नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका शिक्षक दम्पतीको दुर्घटनामा परेर मृत्यु भएको छ । विनय त्रिवेणी गाउँपालिका–४ बगैँचाका ३५ वर्षीय सन्तोष भुषाल र ३३ वर्षीया सविना भुषालको शुक्रबार बिहान भएको सडक दुर्घटनामा परेर मृत्यु भएको हो ।
यी दम्पती दुवै जना शिक्षक थिए र तिहारको पावन अवसरमा मार्दी हिमालको ट्रेकिङमा जानुभएको थियो। उहाँहरु ट्रेकिङ पूरा गरेर घर फर्कदै गर्दा चितवनको भरतपुर महनगरपालिका – २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा दुर्घटनामा परेका थिए ।
घरको लागि यात्रा गर्दै गर्दा उक्त सडकखण्डमा दुर्घटना भएको हो । सन्तोष भुषाल र सविना भुषाल दुवैजना शिक्षक थिए र विद्यालयमा शिक्षण कार्यमा संलग्न थिए । उनीहरूको असमय मृत्युले परिवार र समाजमा गहिरो दुःख र शोकको वातावरण सिर्जना भएको छ ।