कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालिकाको आयोजनामा नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता मध्यविन्दु–३ इटैरा स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा बुधवारदेखि सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अधिकारीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो । यस प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्ने भन्दै त्यस्ता प्रतिभालाई चिनेर उनीहरुलाई निरन्तर अभ्यास गराउनुपर्ने उहाँको भनाइ थियो। हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेको हुने भन्दै त्यसलाई चिनेर अगाडि बढे विश्वमा ठूलो मान्यता हुने कुरामा जोड दिनुभयो । अधिकारीले मध्यविन्दु नगरपालिकाले “हाम्रो खुसी” शुक्रवारू कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। यस कार्यक्रममार्फत हरेक हप्ताको शुक्रबार विद्यार्थिहरूले किताबका ज्ञानलाई व्यवहारिक तरिकाले सिक्ने अवसर पाउँछन्।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख पुणकला चौधरीले मध्यविन्दु नगरपालिकाले शिक्षा सँगै स्वास्थ्य र खेलकुदलाई पनि अघि बढाइरहेको बताउनुभयो। “हामी विद्यालयमा योग शिक्षक राखेर विद्यार्थीलाइ योगतर्फ आकर्षित गरिरहेका छौं,” चौधरीले भन्नुभयो। “खेल भनेको हारजितभन्दा पनि निरन्तर अभ्यास गर्दै जाने प्रक्रिया हो र खेलकै माध्यमबाट व्यक्ति, विद्यालय, समाज र राष्ट्रको नाम चिनाउन सकिन्छ।”
कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रिधर शर्माले सबैलाई टिम भावना बुझेर मिलेर खेल्न अनुरोध गर्दै खेल क्षेत्रको विकासमा सबैले मिलेर लाग्न आह्वान गर्नुभएको थियोे ।
त्यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले कार्यक्रममा मन्तव्य राख्दै थारु समुदायका संस्कृतिहरूलाई संरक्षण गर्नुपर्ने महत्व दर्साउदै पौडेलले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता एक खेल प्रतियोगिता मात्र नभइ प्रतिभा चिन्ने मञ्च भएको बताउनुभयो । उहाँले खेलाडीलाई आफ्नो रुचिअनुसारको खेलमा निरन्तर अभ्यास गर्न आग्रह गर्नुभएको थियो।
कार्यक्रममा नगरपालिकाको शिक्षा, युवा र खेलकुद महाशाखा प्रमुख पदमराज आर्च्याले नगरका माध्यमिक स्तरका विद्यार्थीहरू प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो। यस प्रतियोगिताबाट विद्यार्थी पालिका, जिल्ला, प्रदेश र केन्दसम्म पुग्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता केवल एक खेल प्रतियोगिता मात्र नभइ विद्यालयहरूको लागि एक बृहत् महोत्सव भएको नवजागरण नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद देवकोटाले बताउनुभयो ।
प्रतियोगितामा नगरपालिकाभित्रका १८ विद्यालयका विद्यार्थीहरू प्रतिस्पर्धा गर्दैछन्। यो प्रतियोगिता मङ्सिर २९ गतेसम्म सञ्चालन हुने शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो। प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइ जम्प, लङ जम्प लगायतका खेलहरू समावेश गरिएका छन् ।
प्रतियोगितामा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, जिल्ला खेलकुद संघका अध्यक्ष सेतमान पुन, मध्यविन्दु नगरपालिका खेलकुद विकास समितिका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, शिक्षाप्रेमी र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। जनता माध्यमिक विद्यालयकी प्रधानाध्यापक चुनकुमारी महतोले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। उद्घाटन कार्यक्रम वडा नम्बर ३ का वडा अध्यक्ष मन बहादुर महतोको अध्यक्षतामा सम्पन्न भएको थियो।