चोरमारा । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखराको आयोजना र मध्यविन्दु नगरपालिकाको सहयोगमा मध्यविन्दु १२ स्थित ४० वर्ष माथिका नागरिकहरूको लागि निशुल्क नसर्ने रोगको मास स्क्रिनिङ शिविर आयोजना गरिएको छ । यो कार्यक्रम मध्यविन्दु नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कान्ता कुमारीको अध्यक्षता र नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले भन्नुभयो“ज्येष्ठ नागरिकहरूमा नसर्ने रोगको जोखिम बढी हुने हुँदा समयमै परीक्षण गरेर उपचार गर्न सहज होस् भनेर यो कार्यक्रम सुरु गरिएको हो।” उहाँले थप्नुभयो, “समाजमा प्रायः मानिसहरू रोग लागेपछि मात्र उपचारका लागि जाने धारणा रहेको छ, तर यो अभियानले रोगको पहिचान र निदान बेलैमा गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छौं।”
अधिकारीले स्वास्थ्यको महत्व र यसको निरन्तर प्रवर्द्धनका लागि शैक्षिक पाठ्यक्रममा समेत समावेश गरेर लाग्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो। उहाँले नगरपालिकाले स्वास्थ्य सेवा थप व्यवस्थित गर्न नगर अस्पतालको नयाँ भवन निर्माण गरिरहेको जानकारी पनि दिनुभएको थियो ।
कार्यक्रमको आयोजना बारेमा जानकारी दिँदै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काले भन्नुभयो, “यस क्षेत्रको नागरिकहरूमा बिरामी हुने अवस्था बढेको छ। उपचारका लागि रकम खर्च गर्नु भन्दा रोग नलागोस् भन्ने कुरामा प्रदेश सरकारले जोड दिन थालेको बताउनुभयो ।”
कार्यक्रमका दौरान, पुस २ र ३ गतेका दिनहरूमा पहिलो दिन रगत र पिसावको नमुना संकलन गरिएको थियो। अर्को दिन ३ गते निशुल्क परामर्श पनि दिइने जानकारी मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर भुसालले दिएका छन्। पहिलो दिन ६३० जनाको रगत र पिसाव नमुना संकलन गरिएको थियो।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, पूर्व संसद सदस्य चन्द्र मणि खनाल, शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव पदमराज आर्चाय, स्वास्थ्य शाखाका माधव पोख्रेल, नगर अस्पतालका प्रमुख अमेश चन्द्र शाह, जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रम मध्यविन्दु १२ स्थित स्वास्थ्य केन्द्रमा आयोजना गरिएको थियो।