चोरमारा । नवलपुरको मध्यविन्दु – १२ स्थित मुसहर बस्तीका ५० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै नगर प्रमुख भिमलाल अधिकारीले आफ्नो जन्मदिन मनाउनुभएको छ । अधिकारीले जन्मदिनको अवसरमा शिक्षा बिना विकास सम्भव नभएको र यसैले जन्मदिनमा समेत शैक्षिक क्रियाकलापमा सहभागी भएको बताउनुभयो।
अधिकारीले भनुभो, “शिक्षा र स्वास्थ्यका क्षेत्रमा निरन्तर कार्य गर्दै समग्र नगरपालिकामा सुधार ल्याउने मेरो प्राथमिकता हो। यस कार्यले मुसहर बस्तीका बालबालिकाहरूको अध्ययनमा पनि सहयोग पुर्याउने अपेक्षा राख्दछु।”
त्यसैगरी, मुसहर बस्तीका बालबालिकाहरूको लागि अन्य समयमा पनि झोला, कापी, कलम तथा निशुल्क शिक्षा व्यवस्था गरिएको छ । कापी र कलमको कारण विद्यार्थीहरूलाई आफ्नो पढाइमा कुनै समस्या नआओस् भन्ने हिसाबले वितरण गरेको उहाँले बताउनुभयो।
जन्मदिनको शुभकामना व्यक्त गर्दै वडाअध्यक्ष कान्ता कुमाले शैक्षिक सामाग्री वितरणको लागि नगर प्रमुखलाई धन्यवाद दिनु भएको थियो। उहाँले आगामी दिनमा शैक्षिक क्षेत्रमा अझै प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभयो।
त्यस्तै नगर प्रमुख अधिकारीले मध्यविन्दु १० स्थित जेष्ठ नागरिक भेटघाट हलमा रहनुभएका जेष्ठ नागरिकहरूलाई १५ किलो चिनी हस्तान्तरण गर्नु भएको थियो। साथै, उहाँले मध्यविन्दु नगरपालिका २ कोल्हुवा स्थित अरबिन्द योग आश्रमका बालबालिकासँग भेटेर रमाइलो समय बिताउनु भएको थियो। आश्रममा प्रमुखको आगमनसँगै त्यहाँका बालबालिकाले खुशी हुँदै गीत र भजन गाएर स्वागत गरेका थिए।