प्रिय धन
चोरमारा । मध्यबिन्दु नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम सम्बन्धी शिक्षकहरूका लागि तीन दिने तालिम सञ्चालन भएको छ। मध्यबिन्दु नगरपालिकामा यही शैक्षिक सत्रदेखि सञ्चालनमा आएको हाम्रो खुसी पाठ्यक्रमका सम्बन्धमा शिक्षकहरूका लागि तीन दिने जीवन विद्या परिचय शिविर गत पुसको २२ गतेदेखि सञ्चालनमा आएको हो।
पुसको २२ गतेदेखि २४ गतेसम्म कक्षा १ देखि ३ सम्म अध्यापनरत कक्षा खुसी शिक्षकहरु लाई र पुष २५ गते बिहीबारदेखि पुसको २७ गतेसम्म कक्षा ४ देखि ८ सम्म अध्यापनरत खुसी शिक्षकहरुका लागि तालिम सञ्चालन गरिएको मध्यबिन्दु नगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
हाम्रो खुसी पाठ्यक्रमका पाठ्यक्रम अनुसन्धान केन्द्रका संयोजक हरिप्रसाद देवकोटाको अध्यक्षता तथा मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यतामा दोस्रो चरणको पहिलो दिनको कार्यक्रम समुद्घाटन भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले जीवनविद्या शिविर मार्फत शिक्षकहरूलाई आफू खुसी भएर कक्षामा प्रवेश गर्नका लागि नयाँ ढोका खोल्ने बताउनुभएको थियो। तीन दिनसम्म चल्ने कार्यक्रम मार्फत सम्पूर्ण उपलब्धि पुरा हुन नसक्ने भन्दै सम्भव भएसम्म आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरु आयोजना गर्ने र सिकेका सिपलाई सिकेका ज्ञानलाई व्यवहारमा उतार्नका लागि सम्पूर्ण शिक्षकहरुमा नगर प्रमुख अधिकारीले आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै मध्यबिन्दु नगरपालिकाकी उपप्रमुख पूर्णकला चौधरीले मध्यबिन्दु नगरपालिकाको खुसी पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याई पूर्ण सार्थकता दिलाउनका लागि कुनै एक व्यक्ति संस्थाले मात्र नहुने भएकाले सम्पूर्ण शिक्षकहरु अभिभावकहरु र विद्यार्थीहरु लाग्नुपर्ने बताउनुभयो ।
पहिलो दिनको कार्यक्रममा उपस्थित सम्पूर्ण शिक्षकहरुलाई स्वागत गर्दै मध्यबिन्दु नगरपालिकाका खुसी शिक्षक संयोजक लक्ष्मी पाण्डे भट्टराईले खुसी खोज्नका लागि बाहिर अन्त कतै नगई आफूभित्रै प्राप्त गरिने भएकाले आफूलाई नै पहिला मूल्यांकन गर्नुपर्ने बताउनुभयो। यस्तै हाम्रो खुसी पाठ्यक्रम अनुसन्धान केन्द्रका संयोजक हरिप्रसाद देवकोटाले हाम्रो खुसी पाठ्यक्रमलाई सार्थकता दिलाउनका लागि सबैभन्दा महत्त्वपूर्ण योगदान कक्षा शिक्षकको हुने भएकाले कक्षा खुसी शिक्षकले खुसीका साथ विद्यार्थीहरु समक्ष आफूलाई प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो ।
यस्तै मुख्य प्रशिक्षकका रूपमा रहनुभएका भारतीय जीवन विद्या जीवन विद्याका प्रबोधक एवं भारतीय शिक्षा बोर्डका संयोजक श्रवणकुमार शुक्लाले प्रशिक्षक प्रशिक्षण प्रदान गर्नुभएको थियो। दोस्रो चरणका शिक्षकहरूका लागि भएको तालिममा मुख्य प्रशिक्षक शुक्लाले मानवका आधारभूत मूलतः दुई प्रश्न किन बाँच्ने र कसरी बाँच्ने भन्ने सन्दर्भमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
दोस्रो सत्र अन्तर्गत मानवका आधारभूत आवश्यकता , ज्ञान समाधान खुसी सहित खुसी के हो रु के यो हामीलाई कहिलेकाहीँ चाहिन्छ वा निरन्तर चाहिन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
यस्तै तेस्रो सत्र अन्तर्गत समाधान वास्तविकताको बुझाई यस अनुसार बाँच्ने प्रकृति अस्तित्व आफैप्रति विश्वास अस्तित्वमा मेरो भूमिका मानव चेतना म र शरीरको रुपमा आफूलाई कसरी लिने भन्ने विषयमा समेत प्रशिक्षण प्रदान गर्नुभएको थियो।
यस्तै बिहिबारको पहिलो दिनको अन्तिम सत्र अन्तर्गत सजगता र अन्य गतिविधिहरुको भिन्नता मान्यता धारणाहरुको भूमिका सरल जीवनका गतिविधिहरुका विषयमा पनि चर्चा भएको थियो । कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका करिब ३०० जना शिक्षकहरूको उपस्थिति रहेको थियो। दोस्रो चरणको पहिलो दिनको कार्यक्रमको उद्घाटन सत्रको कार्यक्रम सञ्चालन शिक्षा अधिकृत कृष्णप्रसाद रेग्मीले गर्नुभएको थियो ।