कोल्हुवा । नवलपुरको मध्यविन्दु क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ। मध्यविन्दु नगरपालिका र मध्यविन्दु साझेदारी वन उपभोक्ता समूह मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था गरिरहेको हो।
मध्यविन्दु नगरपालिकाको ढुवानी र साझेदारी वनमा फालिएका जरालाई सदुपयोग गर्दै दाउरा वितरण गरिएको छ। तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ। हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर बनाएको अवस्थामा वडाअध्यक्ष रामभक्त अधिकारीले मध्यविन्दु साझेदारी वनसँग रूखका जरा मागेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताउनुभयो । मध्यविन्दु नगरपालिकाले ट्याक्टर र जेसिबीको सहयोगमा साझेदारी वनसँग दाउरा मागेर चोक चौराहामा आगो ताप्ने व्यवस्था मिलाएको वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।
मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष भगवान खनालले सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाइदिने भनी माग गरेपछि दाउरा उपलब्ध गराइएको जानकारी दिनुभयो । रूखका जरा निकालेर चोक चौराहामा आगो ताप्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। अध्यक्ष भगवान खनालका अनुसार कावासोती नगरपालिका वडा १४ र १७, मध्यविन्दु नगरपालिका वडा १, २ र ३ का चोकचौरामा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था मिलाइएको छ । चोकचोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय बताउँछन् ।