कावासोती । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नवलपुरको अध्यक्षमा अधिकारी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
शुक्रवार कावासोतीमा भएको छैठौँ साधारण सभा तथा चौथो अधिवेशनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्य समिति निर्वाचित गरेको हो। प्याब्सन नवलपुरको जिल्ला वरिष्ठ उपाध्यक्षमा भीमलाल कँडेल, उपाध्यक्षमा प्रदीप बास्तोला, सचिवमा कान्तमणि चौधरी, सहसचिवमा मोहन सिंह बाक्बल, कोषाध्यक्षमा चुराबहादुर गुरुङ र सहकोषाध्यक्षमा नारायण बहादुर थापा निर्वाचित हुनुभएको छ।
यसैगरी सदस्यहरूमा चिरञ्जीवी गौडेल, जगन्नाथ अर्याल, राधा शर्मा, लक्ष्मण कँडेल, राजेन्द्र गुरुङ, प्रदीप भुसाल, कलादेवी पाण्डे र सरस्वती सुवेदी सापकोटा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
अधिवेशनको उद्घाटन कार्यक्रम निवर्तमान अध्यक्ष दीपक रावतको अध्यक्षतामा तथा प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। यसैगरी, कार्यक्रममा केन्द्रीय महासचिव आरबी कटुवालसहित प्याब्सन केन्द्र, प्रदेश र जिल्ला तहका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सचिव कान्तमणी चौधरीको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भीमलाल कँडेलले स्वागत मन्तव्य राख्नु भएको थियो।
साधारण सभाको अवसरमा केन्द्रीय अध्यक्षले प्याब्सन नवलपुरको नयाँ भवनको उद्घाटन समेत गर्नुभएको छ। उक्त अवसरमा भवन निर्माणमा जग्गा प्रदान गर्नुहुने भोजराज दाहाललाई सम्मान गरिएको थियो।