कावासोती – गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री, पद्मा जिसी श्रेष्ठले कृषिमा उत्पादन बढाउन इच्छुक सबैलाई सरकारको सहयोग रहने विश्वास दिलाइन्। नवलपुर उद्योग वाणिज्य संघद्वारा आयोजित ८ औं नवलपुर महोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कृषि उत्पादनको महत्त्व र यसमा सरकारको सक्रिय सहभागिता सुनिश्चित गर्ने कुरा स्पष्ट पारिन्।
“हामीलाई भूगोलले पनि साथ दिएको छ, मौसम अनुसारका उपज उत्पादनमा हामी सबै जोडिनुपर्छ । उत्पादनमा जोडिन चाहानुहुने सबैलाई सरकारले हातेमालो गर्नेछ र सहयोग गर्नेछ,” मन्त्री श्रेष्ठले भनिन्।
मन्त्री श्रेष्ठले देशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै सरकार र निजी क्षेत्रबीच समन्वयको आवश्यकता औंल्याइन्। साथै, महोत्सवमा राखिएका कृषि क्षेत्रका स्टलको सराहना गर्दै, यसले नवलपुर जिल्लासमेत प्रदेशमा आर्थिक गतिविधिहरूलाई बढावा दिने विश्वास व्यक्त गरिन्।
यस महोत्सवको उद्घाटन कावासोती १६ स्थित अंकुर सामुदायिक वन परिसरमा माघ २५ गतेदेखि भएको हो र फागुन १० गतेसम्म सञ्चालन हुनेछ।