चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकामा आगामी फागुन २२ देखि २४ गतेसम्म हुने कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव – २०८१ को तयारी तीव्र गतिमा अघि बढिरहेको छ । महोत्सवको सन्दर्भमा आइतबार नगरपालिकाभित्र सक्रिय राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिएको छ ।
छलफलमा नेपाली कांग्रेसका नगर सभापति दोमन भण्डारी, नेकपा एमालेका जिल्ला कमिटी सदस्य नारायण पोखरेल, नेकपा माओवादी केन्द्रका अनन्त अधिकारी, राप्रपाका नगर अध्यक्ष प्रमोद सिंह कार्की र रास्वपाका नगर सदस्य नारायण खड्का सहभागी भएका थिए।
छलफलपछि महोत्सवलाई सफल बनाउन आवश्यक समन्वय गर्ने तथा सहयोग गर्ने प्रतिबद्धता राजनीतिक दलहरूले व्यक्त गरेका छन्। नगरप्रमुख भिमलाल अधिकारीले महोत्सव कृषि प्रविधि, स्थानीय उत्पादन प्रवर्द्धन, तथा कृषकहरूको सशक्तीकरणका लागि महत्वपूर्ण हुने बताउँदै सबै दललाई साथ दिन आग्रह गर्नुभयो । साथै समग्र मध्यविन्दु नगरपालिका भित्रका कृषि उपज र आधुनिकीकरणको प्रदर्शनी गर्ने उद्देश्यले गर्न लागिएको महोत्सवको तयारी हरेक दिन तीव्र गतिमा भइरहेको समेत नगरप्रमुख अधिकारीले बताउनुभयो ।
महोत्सव अवधिभर कृषि प्रविधि प्रदर्शनी, परम्परागत रैथाने परिकार प्रदर्शनी, अन्तरक्रिया कार्यक्रम, कृषि हाजिरीजवाफ प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुति जस्ता कार्यक्रम हुनेछन्। साथै, स्थानीय किसान, कृषि अनुसन्धानकर्ता, विद्यार्थी, व्यवसायी तथा वित्तीय संस्थाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । नवजागरण नमूना माध्यमिक विद्यालय, चोरमाराको रंगशालामा ३ दिने कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना हुनेछ।