प्रीतम भुजेल
कावासोती । देवचुली नगरपालिकाको आयोजना, प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखराको प्राविधिक सहयोग तथा प्रादेशिक जनस्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा देवचुली नगरपालिका वडा नं: १५ को कार्यालयमा एक्स-रे प्रविधिमार्फत छाति रोगसम्बन्धी खोज तथा उपचार शिविर भव्य रूपमा सम्पन्न भएको छ।
“आर्थिक विकास र स्वरोजगार” समृद्ध देवचुलीको आधारू भन्ने नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा “समय अब क्षयरोग अन्त्यको, क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं” भन्ने सन्देश प्रवाह गरिएको थियो।
नगरपालिकाका अनुसार, देवचुलीलाई क्षयरोगमुक्त नगर घोषणा गर्ने लक्ष्यसहित विभिन्न अभियानहरू सञ्चालन भइरहेका छन्। आज सम्पन्न शिविर पनि सोही प्रयासको निरन्तरता हो।
शिविरमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म वरिष्ठ छाती, मुटु तथा पेट रोग विशेषज्ञ डा.प्रमोद भट्टराईको नेतृत्वमा ३७८ जनाको एक्स-रे परीक्षण गरियो। परीक्षणका क्रममा ४ जनामा क्षयरोग प्रमाणित भएको छ भने ४५ जनाको थप परीक्षणका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, कावासोती पठाइएको छ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो भने प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराका फोकल पर्सन राजेन्द्र रानाभाट विशेष अतिथि रहनुभएको थियो।
त्यसैगरी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, अधिकृत अविनाश पन्थी, सि.अ.न.मी निरीक्षक सिता न्यौपाने, नगरप्रमुखका स्वकीय सचिव सागर न्यौपाने, वडा नं: १५ का सम्पूर्ण जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिहरू, स्थानीय आमा समूह, स्वास्थ्य स्वयंसेविका तथा पत्रकारहरू कार्यक्रममा उपस्थित थिए।
कार्यक्रमको अध्यक्षता कार्यवाहक वडा अध्यक्ष प्रेम प्रसाद खनालले गर्नुभएको थियो भने सञ्चालन देवचुली नगरपालिकाका स्वास्थ्य शाखाका सि.अ.हे.व अधिकृत शिव प्रसाद पराजुलीले गर्नुभएको थियो। कार्यक्रमको प्राविधिक व्यवस्थापन प्रगतिनगर स्वास्थ्यचौकीका प्रमुख लोकनाथ अर्यालले गर्नुभएको थियो। स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले व्यक्त गर्नुभएको थियो।