२०८१ चैत्र १८, मंगलबार
नयाँ
पछिला अपडेट

विनयी त्रिवेणी गाउँपालिकामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु

२०८१ चैत्र ५, बुधबार प्रकाशित ( हफ्ता अघि) १९० पाठक संख्या

नवलपुर – विनयी त्रिवेणी गाउँपालिकाले गाउँपालिका भित्रका मोतियाबिन्दु भएका व्यक्तिहरूको निःशुल्क शल्यक्रिया सुरु गरेको छ। गाउँपालिकाका विभिन्न पाँचवटा केन्द्रमा मोतियाबिन्दु परीक्षण गर्दा ७९५ मध्ये १६१ जनामा समस्या देखिएको थियो।

नेत्रज्योति संघ नवलपरासी पूर्व र भरतपुर आँखा अस्पताल, चितवनको समन्वयमा परीक्षण शिविरहरू संचालन गरिएको थियो। चैत्र ३ देखि ५ गतेसम्म विभिन्न स्थानमा परीक्षण गरी शल्यक्रियाका लागि छनोट गरिएका बिरामीहरूको शल्यक्रिया भानुदय माध्यामिक विद्यालय, दुम्कीबासमा भइरहेको छ।

यसअघि मोतियाबिन्दु भएका बिरामीहरूलाई शल्यक्रियाका लागि कावासोती, चितवन, हेटौंडा लगायतका स्थानमा लैजानुपर्ने अवस्था थियो। तर, यसपटक गाउँमै शल्यक्रिया गरिँदा बिरामीहरूलाई सहज भएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए।

शल्यक्रियाको लागि बिरामीहरूको सुगरलगायतका आवश्यक परीक्षण गरी मात्र शल्यक्रिया गरिने भरतपुर आँखा अस्पतालकी डा। पुष्पा गिरी श्रेष्ठले जानकारी दिइन्। परीक्षणमा उमेरसँगै मोतियाबिन्दु देखिने समस्या बढी रहेको उल्लेख गर्दै नेत्रज्योति संघका जिल्ला सचिव उदयराज सिग्देलले हुप्सेकोट गाउँपालिकामा पनि यस्तै शिविर सञ्चालनको तयारी भइरहेको बताए।

शल्यक्रियापछि दृष्टि फिर्ता हुने आशामा रहेका बिरामीहरू खुसी देखिएका छन्। नवलपुर जिल्लामा प्रत्येक वर्ष मोतियाबिन्दु परीक्षण तथा शल्यक्रिया भइरहे पनि उमेरजनित मोतियाबिन्दु समस्या उच्च दरमा देखिएको नेत्रज्योति संघ नवलपरासी पूर्वका सदस्य दिवाकर पौडेलले बताए।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस