कावासोती — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका–१, केउरेनीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।
नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको ग ४ प ८०५५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा ३ ख ३४५२ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटर चालक रविना श्रेष्ठ र पछाडि सवार सुशिला श्रेष्ठ घाइते भएका छन्। घाइतेमध्ये सुशिलालाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । बसमा सवार सबै यात्रु सकुशल रहेको र उनीहरूलाई अर्को बसमार्फत गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।