२०८१ चैत्र ३०, आईतबार
नयाँ
पछिला अपडेट

विनयी खोलाको डाइभर्सन पुनः निर्माणपछि नारायणगढ–बुटवल सडक सुचारु

२०८१ चैत्र २९, शनिबार प्रकाशित ( घण्टा अघि) ११० पाठक संख्या

कावासोती । विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको नारायणगढ–बुटवल सडक पुनः सञ्चालनमा आएको छ। विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासस्थित खोलामा बनाइएको डाइभर्सन बगाउँदा शनिबार बिहानदेखि पूर्ण रूपमा ठप्प भएको पूर्व–पश्चिम राजमार्ग अन्तरगतको सडक शनिबार राति ९ बजेबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

डाइभर्सन पुनः निर्माण गरी एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए। उनका अनुसार, गत पुस २६ गते भारतीय हेभी ट्रक पास हुने क्रममा विनयी खोलाको पक्की पुल भत्किएपछि अस्थायी डाइभर्सन बनाइएको थियो। तर, शनिबार बिहान आएको बाढीले उक्त डाइभर्सनसमेत बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडक अबरुद्ध हुँदा सयौं यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका थिए। अत्यावश्यक सवारीसाधनलाई भने होङ्सी सिमेन्ट उद्योगको निजी सडक हुँदै वैकल्पिक रूपमा चलाइएको प्रहरीको भनाइ छ।

उक्त समयमा दाउन्ने क्षेत्रमा भइरहेको सडक विस्तार तथा कालोपत्रे खन्ने कामले सडक हिलो र चिप्लो भएपछि थप समस्या निम्तिएको थियो। बिहीबार बिहान परेको वर्षाले अवस्था झन् जटिल बनेको थियो। अहिले हिलो हटाएर केही सहज बनाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

दाउन्ने क्षेत्रमा मर्मत तथा विस्तार कार्य अन्तर्गत हाल दिनको ११ बजेदेखि ३ बजेसम्म सवारी आवागमन बन्द गरेर काम भैरहेको छ। साथै, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी रोकेर काम अघि बढाउने तयारी गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस