कावसोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा वन वायोमास व्यवस्थापन र कृषि दिगोपनमा आधारित पहिलो राष्ट्रिय सम्मेलन हुने भएको छ ।
यही वैशाख १३ र १४ गते दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा देशभरिका विज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो ।
“जलवायु परिवर्तन, जैविक कृषि प्रवर्द्धन र वन व्यवस्थापनजस्ता समसामयिक मुद्दाहरूको समाधानका लागि सम्मेलन आयोजना गरिएको हो”,उहाँले भन्नु भयो,“स्थानीय तहबाटै दिगो विकासको अभ्यास थाल्नुपर्ने मान्यताका साथ राष्ट्रिय सम्मेलन सहित देशभरि नयाँ सन्देश दिन खोजिएको छ ।”
नेपाल वायो विज्ञान अनुसन्धान ल्याबका प्रमुख डा।अरुण लामाले वायोमासको ऊर्जा र कृषि उपयोगका सम्भावनाहरूबारे प्राविधिक दृष्टिकोणले निचोड निकालिने बताउनु भयो । अहिलेको जलवायु परिवर्तनको नकारात्मक असर र वातावरण संरक्षणका विविध पाटोहरूमा विज्ञहरू सहित छलफल चलाइने लामाले जानकारी दिनु भयो ।
“सम्मेलनले विशेष गरी वनजन्य जैविक स्रोतहरूको दिगो व्यवस्थापन, जैविक कृषिको प्रवर्द्धन, वातावरणीय सन्तुलन तथा स्थानीय स्रोत साधनको प्रभावकारी उपयोगका विषयमा गहिरो छलफल र प्रस्तुति हुने छ”,उहाँले भन्नु भयो ।
दुई दिने सम्मेलनमा विभिन्न जिल्लाबाट विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी, किसान तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहित तीन सय भन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । विनयी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बालु पुरीले समुदायको सहभागितामा वन जङ्गलको संरक्षण र वायोमासको सदुपयोगको महत्त्वबारे चर्चा गर्न सम्मेलन सफल हुने बताउनु भयो । सम्मेलनमार्फत समुदायलाई अझ सचेत र सक्षम बनाउने लक्ष्य राखिएको पुरीले बताउनु भयो ।
वन निर्देशनालय गण्डकी प्रदेशका उपसचिव धनेन्द्र बहादुर खनालले वन र वातावरणका चुनौती समाधान गर्न शोध, संवाद र साझेदारी अपरिहार्य भएको बताउनु भयो ।
“सम्मेलनले वन जङ्गलबाट प्राप्त वायोमासको वैज्ञानिक व्यवस्थापन तथा त्यसको कृषिमा प्रयोग, जैविक मलको उत्पादन र प्रयोग, दिगो कृषिको अभ्यास, वातावरणीय न्याय, र हरित अर्थतन्त्रको सम्भावनाबारे रणनीतिक सुझावहरू पनि प्रस्तुत हुने छन्”,उहाँले भन्नु भयो ।
सम्मेलनले वातावरणीय चेतना फैलाउने र दिगो कृषि अभ्यासमा प्रोत्साहन गर्ने वातावरणविद् श्रीराज कुमार केसीले बताउनु भयो । सम्मेलनमा वायोमासको व्यवस्थापन, जैविक कृषि प्रवर्द्धन, वातावरण संरक्षण र हरित विकासका विविध आयाममा रणनीतिक संवाद र सुझाव प्रदान हुने केसीले जनकारी दिनु भयो ।
शनिवार हुने कार्यक्रमको उद्घाटन समारोहमा स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेश तथा सङ्घीय सरकारका पदाधिकारी, पर्यावरण तथा कृषि क्षेत्रमा क्रियाशील सङ्घसंस्था तथा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
विनयी त्रिवेणी गाउँपालिकाले बनमा खेर गएको पातपतिङ्गर वाट जैविक मल उत्पादन गरी विक्री गर्दै आएको छ । विनयी जैविक मल उत्पादन उद्योग सञ्चालन गरी स्याउला,घाँसपातको प्रयोग वाट यहाँ जैविक मल उत्पादन गर्ने गरिएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको विनयी सामुदायिक वन उपभोक्ता समूहमा स्थापना गरिएको उद्योगमा अहिले जैविक मल तयार गरी विक्री गरिएको छ । यो वर्ष एक सय २५ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष सहित काम भइरहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।