२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाटै

२०७८ श्रावण १८, सोमबार प्रकाशित ( साल अघि) २०६१ पाठक संख्या

कावासोती । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी शुरू गरेको छ ।

मध्यविन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी शुरू गरेको हो ।

मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले अब नगरवासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबहाल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने बताए ।

विद्युतीय भुक्तानी शुरू भएपछि नगरपालिकाका स्थानीय करदाताले घरमा नै बसेर अनलाइनमार्फत राजस्व भुक्तानी गर्न सक्ने नगर प्रमुख रानाले बताए ।

अनलाइन भुक्तानी शुरू भएपछि राजस्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजस्वको दायरा वृद्धि हुने विश्वास लिइएको रानाको भनाइ छ । विद्युतीय भुक्तानीबारे करदातालाई शिक्षा दिन समेत नगरपालिकाले आवश्यक कार्य गर्ने नगर उपप्रमुख ओमकुमारी महतोले बताइन् ।

आइतवारदेखि अनलाइन प्रणाली शुरू भएपछि सबै करदाताले विद्युतीय प्रणालीमार्फत झण्झट विनै राजस्व भुक्तानी गर्न सक्ने महतोको भनाइ छ । विद्युतीय भुक्तानीको माध्यम इसेवाबाट नगरपालिकाको कर भुक्तानी गर्न सकिने नगर उपप्रमुख महतोले बताइन् ।

नगरपालिकाले विद्युतीय भुक्तानीका लागि इसेवासँग सम्झौता गरेर काम अगाडि बढाएको नगरपालिका आईटी शाखा प्रमुख नरेश गुरुङले बताए । अन्य अनलाइन भुक्तानी गर्ने सेवा प्रदायकसँग पनि सम्झौता गरेर भुक्तानी व्यवस्थालाई सहज बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको गुरुङको भनाइ छ ।

करदाताले कर तिर्न ई–पोर्टलमा विवरण भरेर दर्ता गराएपछि इसेवा डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिने गुरुङले बताए । यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिने छ ।

अनलाइन प्रणाली शुरू गर्न करदाताले वडा कार्यालमा गएर विवरणहरू अद्यावधिक गराएपछि घरबाटै राजस्व भुक्तानी गर्न सकिने गुरुङको भनाइ छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस