डोलराज रानाभाट कावासोती । नवलपुर जिल्लामा एक जना प्रहरीले ६३९ जना जिल्लावासीलाई सुरक्षा दिनुपर्ने वाध्यता रहेको छ । नयाँ जिल्ला भएपछि २०७४ साल कार्तिक २६ गते स्थापना भएको जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरमा ३ लाख ११ हजार ६०४ जना मानिसहरु रहेकोमा एक जना प्रहरीले औषसतमा ६३९ जनालाई सुरक्षा दिनुपर्ने अवस्था रहेको हो ।
जनशक्ति कम भएकाले एक जना प्रहरीले जिल्लामा २ दशमलव ७२ वर्ग किलोमिटर क्षेत्रफलको सुरक्षा गर्नुपर्ने अवस्था रहेको छ । प्रहरीको तथ्याङ्क अनुसार नवलपुरको क्षेत्रफल १ हजार ३३१ दशमलव १६ वर्गकिलोमिटर रहेको छ । २०७५ साल जेठ २७ गतेदेखि प्रहरी उपरीक्षकको दरवन्दी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले २४ वटा युनिटबाट जिल्लामा शान्ति सुरक्षाको काम गरिरहेको प्रहरी प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिनुभयो ।
यति धेरै जिम्मेवारी रहेको प्रहरीका २४ युनिट मध्ये जिल्ला प्रहरी कार्यालय एउटा, इलाका प्रहरी कार्यालय ७ वटा, प्रहरी चौकी ५ वटा, अस्थायी प्रहरी चौकी ६ वटा, जिल्ला ट्राफिक कार्यालय १ वटा, २ वटा सुरक्षा गार्ड र २ वटा सामुदायिक प्रहरी सेवा केन्द्र रहेका छन् । तर यी मध्ये आफ्नै जग्गा भएका १० वटा युनिट छन भने १४ वटा युनिटको आफ्नो जग्गा नभएको मल्लले जानकारी दिनुभयो ।
त्यस्तै ९ वटा युनिटको आफ्नै भवन छ भने १५ वटा आफ्नै नामको भवन विहिनताको अवस्थामा सुरक्षा दिइरहेका छन् ।