कावासोती । चितवन राष्ट्रिय निकुञ्जका एकसिंगे गैंडा यस आसपासका बस्तीमा पस्दा स्थानीयमा त्रास फैलिएको छ । निकुञ्ज आसपासका थुप्रै स्थानमा गैंडा पसेर सास्ती दिने गरेको छ । त्यसै मध्येको एउटा ठाउँ हो मध्यबिन्दु नगरपालिका ३ स्थित ब्रह्मस्थान, लेडा, ईटौरा क्षेत्र हुन् ।
यहाँका स्थानीयहरुले वर्षेनी गैंडाबाट सास्ती खेप्दै आएका छन् । नवलपुर जिल्लाको तलो भाग गैंडाको उच्च जोखिम क्षेत्र हो ।
सयौँ बिघा जमिनमा लगाइएको बालीनाली सखाफ भएको छ । जंगली गैंडा गाउँमै पसेर मानिसलाई आक्रमण गर्न थाले पछि स्थानिय निकै त्रसीत भएका छन ।
सम्बन्धित निकाय मध्यबिन्दु – ३ वडा कार्यालय तथा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने नन्द भाउजु उपभोक्ता समितिलाई यो समस्याको निम्ति पहल गर्नु पर्नेमा बेखबर भएको भन्दै स्थानीयले अनुरोध पत्र समेत बुझाएका छन् ।
दिउँसै गैंडा गाउँ पस्न थालेपछि यहाँका बासीन्दा काममा जान समेत डराउन थालेका छन् । दिनहुजसो गैंडा गाउँ पस्छ । बालीनाली त परै जावस् ज्यान जोगाउनै गाह्रो भइ सक्यो । दिउँसै गैंडा गाउँ पस्न थाल्यो । वर्षौदेखि गैंडाकै त्रासमा छौ, ’ स्थानिय ब्रह्मस्थान गाउँका सुभाष नेपालले पिँडा सुनाए ।
गैंडाजस्ता जंगली जनावर गाउँ पस्नबाट रोक्न निकुञ्जले मध्यवर्ती क्षेत्रको आसपासमा विद्युतीय तार बिस्तार गरेपनि उक्त तार ठाउँठाउँमा चुडिएकोले गैँडा सजीलै गाउँ पस्ने गरेको छ । वन्यजन्तुलाई गाउ पस्नबाट रोक्न विद्युतिय तारबार प्रभावकारी नभएको स्थानियबासी बताउँछन् ।
निकुञ्ज आसपासका गाउँमा बर्षेनी गैंडाले ठूलो जनधनको क्षती गर्दै आएको भएपनी निकुञ्जले जंगली जनावरबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ ।
समस्याको सावधान तत्काल हुननसके बन्यजन्तु पीडित स्थानीयहरुले आफ्नो जिउधन रक्षाको लागि थप सशक्त आन्दोलन कार्यक्रम अगाडि बढाउन बाध्य हुने अनुरोध पत्रमा उल्लेख गरिएको छ ।
गत बिहिवार पनि गैंडाको आक्रमणबाट कावासोती – १५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको थियोे ।आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैंडाले एक्कासि आक्रमण गरेको थियो।