२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुर माछापालन हबको रूपमा विकास हुँदै

२०७८ पौष १२, सोमबार प्रकाशित ( साल अघि) ९५८ पाठक संख्या

कावासोती । केही वर्ष अघिसम्म भारतीय माछामा निर्भर रहेको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुर अहिले माछापालनको हबका रूपमा विकास हुँदै गएको छ ।

यहाँका किसान माछापालनमा लागेपछि यो जिल्ला विस्तारै माछामा आत्मनिर्भर हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुरमा माछापालन गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएपछि माछापालन गर्ने क्षेत्रमा समेत वृद्धि हुँदै गएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७७÷७८ माछा पोखरीको क्षेत्रफल दुई सय १० हेक्टर पुगेको छ । अघिल्लो आर्थिक वर्षमा माछापालन हुँदै आएको क्षेत्रफल १८१ हेक्टर रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नवलपुरका सूचना अधिकारी डा शर्मिला कुमालले बताउनुभयो । “माछापालनका लागि नवलपुर प्रदेशकै अग्रणी जिल्लाको रुपमा रहेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय माछाको उत्पादन वृद्धिका लागि प्रदेश सरकारले माछापालनको क्षेत्रफल विस्तारका लागि विशेष चासो दिँदै आएको छ ।” यसका लागि चालू आर्थिक वर्षमा रु एक करोड १७ लाख वजेट विनियोजन गरेको सूचना अधिकारी कुमालले बताउनुभयो । ५० प्रतिशत अनुदानमा नयाँ माछा पोखरी खन्नका लागि मात्रै प्रदेश सरकारले रु ५० लाख वजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

यस योजनाबाट जिल्लामा थप १० हेक्टर क्षेत्रफलमा माछा पोखरी थपिने उहाँले बताउनुभयो । पुराना पोखरी मर्मत, मत्स्य भूरा नर्सरी कार्यक्रम, मत्स्य उपकरण तथा सामाग्रीमा सहयोगलगायतका कार्यक्रम चालू आर्थिक वर्षमा समेत सञ्चालन हुने सूचना अधिकारी कुमालले बताउनुभयो । यसले जिल्लामा माछापालन व्यवसायमा वृद्धि हुने उहाँको भनाइ छ । “प्रदेश सरकारले माछापालनका लागि लगानी बढाएको छ, विभिन्न कार्यक्रम सञ्चालन गरी किसानलाई अनुदान दिँदै छ”, सूचना अधिकारी कुमालले भन्नुभयो, “यसले नवलपुरमा माछाको उत्पादन थप बढाउने विश्वास छ ।”

माछाको माग बढेसँगै राम्रो आम्दानी आउन थालेपछि व्यावसायिक माछा पालना गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ । यससँगै भारतीय माछामा निर्भर जिल्लामा केही वर्षयता बर्सेनि आयात समेत घट्दै गएको कृषि कार्यालयले जनाएको छ । पाँच वर्ष अघि ८० प्रतिशत भारतीय माछाको बजार रहेको जिल्लामा अहिले ३० प्रतिशतमा झरेको छ । बर्सेनि १५ देखि २० प्रतिशतसम्म आयात प्रतिस्थापन घटेको माछापालक कृषक बताउँछन् ।

नवलपुरमा अहिले ७०८ वटा माछा पोखरी रहेका छन् । नवलपुरमा मध्यविन्दु, कावासोती, देवचुलीमा सबैभन्दा धेरै माछापालन गर्ने गरिएको छ । गण्डकी प्रदेश सरकारले यस क्षेत्रलाई समेटेर यसवर्षदेखि माछा ब्लक कार्यक्रमसमेत सञ्चालन गर्न लागेको सूचना अधिकारी कुमालको भनाइ छ । गतवर्ष जिल्लामा एक हजार ३७० मेट्रिक टन माछा उत्पादन भएको थियो । तीमध्ये १२२ मेट्रिक टन माछा प्राकृतिक जलाशयमा उत्पादन भएको थियो । यो वर्ष माछा उत्पादन थप बढ्ने अुनमान गरिएको सूचना अधिकारी कुमालले जानकारी दिनुभयो । जिल्लालाई आवश्यकपर्ने माछा उत्पादन भएको र अन्य जिल्लामा समेत निर्यात हुने गरेको उहाँले बताउनुभयो । “जिल्लाको आवश्यकता र माग अनुसार माछा उत्पादन भएको छ, माछामा जिल्ला आत्मनिर्भर छ”, सूचना अधिकारी कुमालले भन्नुभयो ।

कृषि क्षेत्रअन्तर्गत अन्य व्यवसाय भन्दा माछापालन सुरक्षित र नाफा बढी हुने भएकाले पनि माछापालनतर्फ किसानको आकर्षण बढेको हुनसक्ने अनुमान गरिएको छ । सरकारले विभिन्न अनुदान र सुविधा प्रदान गर्दासमेत जिल्लाका किसान माछापालनतर्फ आकर्षित हुने गरेका छन् । मध्यवर्ती क्षेत्र भएकाले अन्यबाली वन्यजन्तुले नोक्सान पु¥याउने तर माछापालन सुरक्षित हुने भएकाले समेत यसतर्फ किसानको आकर्षण बढेको हुनसक्ने अनुमान गरिएको छ ।

माछाको ल्याब स्थापना

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा माछाको ल्याब स्थापना गरिएको छ । ल्याब स्थापनासँगै माछापालनमा देखिने कतिपय समस्याको प्राविधक जाँचबाट निरुपण गर्न सहयोग मिल्नेछ । यसअघि माछापालनका क्रममा आएका समस्यालाई प्राविधिकले आफ्नो अनुभवको आधारमा समाधान गर्दै आएका थिए । जिल्लामा ल्याब नहुँदा माछापालक किसानलाई समस्या हुँदै आएको थियो । अब भने, जिल्लामा नै ल्याब स्थापना हुनेभएपछि माछापालनका क्रममा आउने विभिन्न समस्या समाधान गर्न सहज हुनुका साथै बाहिरबाट आउने माछाको गुणस्तर जाँचमा समेत सहयोग पुग्नेछ ।

बाहिरबाट आउने माछामा फर्मालिनको अत्यधिक प्रयोग हुने गरेको गुनासो आउने गरेको छ । उपभोक्ताले परीक्षणबिना नै यस्ता माछा उपभोग गर्दै आएका छन् । फलस्वरुप विभिन्न रोग निम्त्याउने गर्दछ । ल्याब स्थापनापछि बाहिरबाट आउने माछाको गुणस्तर जिल्लामा नै परीक्षण गर्न सकिने हँुदा उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने असरलाई पनि यसले न्यूनीकरण गर्न सकिने कार्यालयका सूचना अधिकारी डा शर्मिला कुमालले बताउनुभयो ।

पोखरीको पानीको गुणस्तर जाँच, माछामा देखिने विभिन्न रोगको जाँच गर्न सकिने र आवश्यक पर्ने औषधिसमेत वितरण गरिने भएकाले ल्याब स्थापनापछि जिल्लाका माछापालक किसान लाभान्वित हुने उहाँले बताउनुभयो । प्रदेश सरकारको आर्थिक सहयोगमा माछाको ल्याब स्थापना गरिएको हो । रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस