२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

वर्षातले नवलपुरमा ९३ लाख इँटा बिग्रियो

२०७८ माघ २३, आईतबार प्रकाशित ( साल अघि) ८२२ पाठक संख्या

नारायण शर्मा

नवलपरासी — गत दुई दिनको वर्षातले पूर्वी नवलपरासीका ९ वटा इँटा उद्योगका ९३ लाख इँटा बिग्रिएका छन् । इँटा उत्पादक संघका सचिव कृष्ण गौतमका अनुसार खेतमा बनाउँदै गरेको काँचो इँटा झरीले बिगारेको हो । बनाउँदै गरेको काँचो इँटा बिग्रिएकाले उद्योगी मारमा परेको गौतमले बताए ।

लगातार परेको वर्षातले यहाँका उद्योगीलाई करिब ३ करोड ७२ लाख रुपैयाँ बराबरको नोक्सानी भएको उनले बताए ।

पूर्वी नवलपरासीमा वार्षिक ९ करोड इँटा उत्पादन हुँदै आएको छ । झरीले ठुलो संख्यामा ईट्टा बिग्रिएकाले यो वर्ष कूल ३ करोडमात्र इँटा उत्पादन हुने आकलन गरिएको छ । यो वर्ष बजारमा इँटाको माग बढ्ने भए पनि लगातारको वर्षाले उद्योगीहरूलाई निराश बनाएको गौतमले बताए । उद्योगबाट प्रतिगोटा १५ रुपैयाँमा इँटा बिक्री हुँदै आएको छ ।

पूर्वी नवलपरासीमा वाार्षिक एक अर्ब ३५ करोड मूल्य बराबरको इँटा उत्पादन हुँदै आएको छ । यसपटक कतिपय ईट्टा उद्योगले हालसम्म आगो लगाउनसमेत नपाएको गौतमले बताए ।

कोइलाको एक्कासी मूल्यवृद्धि र आयातमा समस्या भएकाले आगो लगाउन नसकिएको गौतमको भनाइ छ । कोइलाको तेब्बर मूल्यवृद्धि, आयातमा समस्या र झरीका कारण इँटामा क्षति भएका कारण इँटा उत्पादनमा कमी आउने भएको छ । गतवर्षसम्म प्रतिकेजी २० रुपैयाँमा पाइने कोइला यो वर्षदेखि ४८ रुपैयाँमा पुगेको छ ।

नेपालमा आउने इन्डोनेसिया, अमेरिका र अस्ट्रेलियाको कोइला सोझै १० वर्षका लागि चीनले खरिद गर्ने सम्झौताका कारण यहाँ कोइलाको मूल्य आकासिएको हो ।

अब बिजुलीबाट इँटा पोल्ने प्रविधि नभित्र्याएसम्म कोइलाले पोल्दा अत्यधिक मूल्यवृद्धि हुने भएको हो । नेपालमा बढ्दो विद्युत् उत्पादन खपत इँटा उद्योगले गर्न सक्ने भए पनि त्यो प्रविधि अझैसम्म भित्रिएको छैन । विद्युत्‌बाट इँटा पकाउने प्रविधि र प्राधिकरणले अनुदानको व्यवस्था गर्न सके कोइला आयात रोकिने र उत्पादन लागतसमेत घट्ने व्यवसायीको भनाइ छ । पूर्वी नवलपरासीका ९ वटा इँटा उद्योगमा २५ सय मजदुर कार्यरत छन् । तीमध्ये ३० प्रतिशत ७ सय ५० जना भारतीय मजदुर रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस