२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा धान उत्पादन घट्यो

२०७८ माघ २७, बिहिबार प्रकाशित ( साल अघि) १०८६ पाठक संख्या

कावासोती । नवलपुरमा यस वर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार यसवर्ष ७ प्रतिशतले धान उत्पादनमा कमी आएको हो । यस वर्ष ७५ हजार ८२८ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र नवलपुरका बागवानी विकास अधिकृत शंकर पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। जसमध्ये २ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा बाढीपहिरो र वर्षाले क्षति पुगेको थियो । गतवर्ष २० हजार ६७० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ८१ हजार ५७० मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुल्नामा यसवर्ष धान खेतीमा ७ प्रतिशतले घटेको ज्ञान केन्द्रले बताएको छ ।

बाढी पहिरोसँगै धान भित्र्याउने बेलामा भएको वर्षले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र नवलपुरका बागवानी विकास अधिकृत शंकर पौडेलले बताउनुभयो। ‘यो वर्ष धान रोप्नेबित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाका कारण उत्पादन घटेको हो । उहाँले भन्नुभयो ।

जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटका दक्षिणी भागहरुमा धान खेती राम्रो हुने गरेको छ । यी क्षेत्रमा अन्य क्षेत्रको तुलनामा सिचाईको राम्रो सुविधा छ । त्यस्तै पहाडी क्षेत्र बुलिङटारमा धान खेती गर्ने क्षेत्र भए पनि सिचाईको सुविधा उपलब्ध नहुँदा एक सिजन मात्रै आकाशे पानीको भरमा खेती गर्नेपर्ने वाध्यता छ । नवलपुर धानमा आत्मनिर्भर भएको उल्लेख गर्दै अधिकृत पौडेलले खपत भएर यहाँ बढी भएको धान अन्य जिल्लामा निर्यात गर्ने गरेको बताउनुभयो ।

नवलपुरमा हुने उत्पादनको ३० देखि ३५ प्रतिशत उत्पादन साबित्री जातको धान मात्रै उत्पादन हुने कार्यालयले जनाएको छ । त्यसपछि राधा वर्णशङ्कर , सावा मन्सुली, रामधान लगायतका धान पनि उत्पादन हुँदै आएको छ ।

जिल्लाको धान खेती गरिएको कूल क्षेत्रफलमध्ये ५५ प्रतिशत जमिनमा सिँचाइ सुविधा उपलब्ध छ । ज्ञान केन्द्रले धान खेती गर्ने किसानका लागि अनुदानमा बीउ, मल, सिँचाइलगायत सुविधा प्रदान गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस