कावासोती । नवलपुरमा लागूऔषध नाइट्राभेट सहित २ जना पक्राउ परेका छन् । कावासोती नगरपालिका-१६ चालिसकिलोबाट ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) सरावल गाउँपालिका-६ बस्ने २२ वर्षीय बिकेश तेली र पालिनन्दन गाउँपालिका-१ बस्ने १९ वर्षीय करन कुर्मी रहेका छन् ।
लु.७५ प ५८४५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साथै उक्त लागूऔषध लिन आएका देवचुली नगरपालिका-१४ बस्ने २७ वर्षीय विशाल न्यौपानेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।