२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

दुम्किबास बर्दघाट सडक फराकिलो पार्न रुख काटिँदै

२०७८ फागुन ३, मंगलबार प्रकाशित ( साल अघि) ८५१ पाठक संख्या

नारायण शर्मा 

कावासोती । महेन्द्रराजमार्गअन्तर्गत दुम्किबास बर्दघाट सडकको १४ किलोमिटर क्षेत्रमा सडक फराकिलो पार्न रुख काट्न थालिएको छ । उक्त खण्डमा अघिल्लो सातादेखि काट्न थालिएको हो ।

सडक इन्जिनियर रोकेश झाका अनुसार दाउन्नेको पहाडी क्षेत्रको दायाँबायाँ १८ सय ९१ वटा रुख काटिने छ । वन मन्त्रालयले अघिल्लो साता रुख कटानको आदेश दिएपछि काम अघि बढेको हो ।सडकको पूर्वीखण्ड (दाउन्ने गैंडाकोट खण्ड)मा ८ सय ९१ वटा रुख काट्नुपर्नेमा मंगलबारसम्म ५ सय ३० वटा रुख काटिसकिने झाले बताए ।

पश्चिम खण्डमा (दाउन्नेदेखि बर्दघाटतर्फ) करिब १ हजार रुख काटिने छन् । पश्चिम खण्डमा वन मन्त्रालयले मंगलबारसम्म रुख काट्न आदेश दिइएको छैन । पूर्व खण्डमा रुख काट्न सुरु भएपनि पश्चिम खण्डमा आदेश नआएका कारण सडक फराकिलो पार्ने काम ढिलो भइरहेको छ । सडक दायाँबायाँका रुख काटन वन मन्त्रालयको आदेश आवश्यक पर्छ । रुख काटिएको स्थानमा बिजुलीको तारसमेत रहेकोले विद्युत् लाइन बन्द गरेर काम गर्दा समय बढी लाग्ने गरेको इन्जिनियर बताउँछन् ।

दाउन्ने पहाडको १४ किलोमिटर क्षेत्रमा ३ लेनको सडक निर्माण हुने छ । हरेक लेन साढे ३ मिटर फराकिलो हुने छ । सडकको दुई भाग छुटयाउने मेडिएनसमेत सबै गरेर पौने १४ मिटर फराकिलो सडक हुने छ ।

सडक क्षेत्र बाहिरको सोल्जर लेनमा बिग्रिएका गाडी पार्किंङ गर्न मिल्ने ठाउँ रहन्छ । अत्यधिक उकालो र थुप्रै घुम्ती रहेको दाउन्ने खण्डमा पनि ४ लेनको सडक निर्माण गर्न स्थानीय पालिकाहरुले माग गर्दै आएपनि सडक बिभागले सुनुवाइ गरेको छैन । प्रारम्भिक चरणमा जे जति काम भनेर ठेक्का लगाइएको छ । त्योभन्दा अहिले बढाउन मिल्दैन इन्जिनियर झा भन्छन्, ‘हालकोभन्दा धेरै फराकिलो हुने भएकाले समस्या हुदैन । दाउन्ने खण्डको धेरै मोडमा गाडL बिग्रिँदा घण्टौं जाम हुने समस्या सडक निर्माण सम्पन्न भइसकेपछि रहँदैन । फराकिलो सडक निर्माण हुने भएकाले अहिलेको भन्दा धेरै फराकिला घुम्ती निर्माण हुन्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस