२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

स्थानीय तहको निर्वाचनका लागि नवलपुरमा बढ्यो चुनावी सरगर्मी  

२०७८ चैत्र १७, बिहिबार प्रकाशित ( साल अघि) ७६४ पाठक संख्या

कावासोती । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा माहोल बनाउन नवलपुरका राजनीतिक दल सक्रिय भएका छन् ।

जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकासहित ९२ वटै वडामा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ । जिल्लाका मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् ।

राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ । भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेता गाउँ गाउँ पुग्न थालेपछि ग्रामीण भेगसम्म नै चुनावी सरगर्मी बढेको हो । आगामी निर्वाचनमा वडादेखि पालिकासम्मको नेतृत्वमा पुग्न आकाङ्क्षीले दल भित्रसमेत आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।

गत सम्पन्न स्थानीय तहको निर्वाचनमा ८ वटा स्थानीय तह रहेको नवलपुरमा २ वटा नगरपालिकाको प्रमुख र ४ वटा गाउँपालीकाको अध्यक्षमा नेपाली कांग्रेसले र २ वटा नगरपालिकाको प्रमुखमा नेकपा एमालेले जितेको थियो । कांग्रेसले देवचुली नगरपालीका, मध्यविन्दु नगरपालिका, बुलिगंटार, हुप्सेकोट, बौदीकाली र विनयी त्रिवेणी गाउँपालिकाको नेतृत्वमा बाजी मारेको थियो भने एमालेले गैडाकोट र कावासेती नगरपालीकाको नेतृत्वमा जित हासिल गरेको थियो ।

बुलिगंटार, बौदीकाली र विनयी त्रिवेणी गाउँपालीका र मध्यविन्दु नगरपालिकामा प्रमुख तथा उपप्रमुख जितेको कांग्रसले देवचुलीमा प्रमुख र गैडाकोटमा उपप्रमुख जितेको हो भने एमालेले कावासोती्मा प्रमुख र उपप्रमुख, गैडाकोटमा प्रमुख र हुप्सेकोटमा उपप्रमुख पदमा जितेको थियो । काँग्रेस विगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फर्काउने योजनामा छ । एमाले आफ्नो साख जोगाउने लक्षमा छ । नेकपा (माओवादी केन्द्र) शक्तिका रूपमा स्थापित हुने प्रयत्नमा देखिन्छ ।

स्थानीय तह र वडा स्तरमा रहेका पार्टीका समितिको बैठक डाकेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको काँग्रेसको जिल्ला कार्य समितिको बैठकले थप निर्वाचन लक्षित योजना पनि बनाएको पार्टीका जिल्ला उपसभापति बालकृष्ण घिमिरेले बताए ।

‘सबै शक्ति अब चुनावमा केन्द्रित गर्छौँ, पार्टी सङ्गठनसँगै विभिन्न भ्रातृ तथा शुभेच्छुक सङ्गठनहरू चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन्’, उनले भने, वडा तहदेखि नै सङ्गठन बलियो बनायो भने पार्टीको संरचना पालिका हुँदै जिल्लासम्म बलियो बनाउन सकिनेतर्फ स्मरण गर्न कार्यकर्ताको ध्यनाकर्षण गराए । आसन्न स्थानीय तहको निर्वाचनमा जुन पार्टी बलियो हुन्छ, सोही पार्टीले त्यसपछिका निर्वाचन आफ्नो पक्षमा बनाउने हुँदा वडादेखि नै चुनावी माहोल आफ्नो पक्षमा बनाउनतर्फ लाग्न घिमिरेले आग्रह गरे ।

त्यस्तै नेकपा एमाले समेत आफ्नो सङ्गठनलाई जिल्लाको सबै पालिका स्तरमा विस्तार गर्ने गरी गतिविधिलाई तीव्रता दिएको छ । पार्टी सङ्गठन निर्माणसँगै जन वर्गीय सङ्गठन निर्माण र चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको पाइन्छ  ।

माओवादी केन्द्रले पनि स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटी चुनावमा केन्द्रित भएका छन् । भने सबै पालिका र वडा कमिटी क्रियाशील छन्, यस पटक माओवादीको सुदृढ सङ्गठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरी अघि बढेको पाईन्छ ।

स्थानीय तह निर्वाचनका लागि नवलपुरमा २ लाख ५४ हजार ६ सय १५ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । जसमा महिला मतदाताको सङ्ख्या १ लाख ३३ हजार पाँच सय ७३ जना रहेको छ भने १ लाख २१ हजार ३८ जना पुरुष मतदाता रहेका छन् । जिल्ला भरि ११३ मतदान स्थल र २ सय ९९ मतदान केन्द्र तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस