२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

रुपन्देही दुर्घटना : मृत्यु भएका ४ जनाको सनाखत

२०७९ जेष्ठ २२, आईतबार प्रकाशित ( साल अघि) १६२८ पाठक संख्या

रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये चार जनाको पहिचान खुलेको छ।

बाँकी पाँच जनाको पहिचान खुलेको छैन।

बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४  मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ बजेर २० मिनेटमा भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो।

बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए।

दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ।

नौ जनाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने  प्रारम्भिक अनुमान छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस