२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

बुटवल-नारायणगढ सडकखण्डको काम ४ वर्षमा १९ प्रतिशत मात्रै

२०७९ श्रावण २, सोमबार प्रकाशित ( साल अघि) ९८० पाठक संख्या

नारायण शर्मा 

बुटवल-नारायणगढ सडकको म्याद एक वर्ष थपिँदै

पूर्वी नवलपरासी — सडक निर्माण सम्पन्न गर्न २१ दिन समय बाँकी रहँदा १९ प्रतिशत मात्र काम सम्पन्न गरेको बुटवल-नारायणगढ सडकखण्ड निर्माणको म्याद एक वर्ष थपिँदै छ । यही साउन २२ गते निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई सडक हस्तान्तरण गर्न पर्नेमा आइतबारसम्म बुटवल-नारायणगढ सडकखण्डको काम १९ प्रतिशत मात्र सकिएको छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले कछुवा गतिमा काम अघि बढाएका कारण ठेक्का अवधि सकिनै लाग्दा १९ प्रतिशत काम सम्पन्न भएको हो । सडक विभागले निर्माण कम्पनीले २ वर्षको म्याद थप्न माग गरे पनि यसै साता एक वर्ष म्याद थप्ने गरी गृहकार्य भइरहेको जानकारी दियो । चिनियाँ ठेकेदार कम्पनीले यो सडक निर्माणको काम २०७५ सालमा सुरु गरेको हो । निर्माण सुरु गरेको ४२ महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरानालगायत कारण देखाउँदै ठेकेदार कम्पनीले फटाफट काम नगरेको हो । बुटवल-नारायणगढ सडकखण्डको लम्बाई १ सय १४ किलोमिटर छ ।

सडक निर्माणमा ढिलासुस्तीले सडकमा हिँड्नै नसकिने खाल्डैखाल्डा छन् । देशकै मुख्य सडकको यस्तो दूरावस्था हुँदा पनि अनुमगनको जिम्मा लिएको सडकका कर्मचारी रमिते बनेका छन् । दैनिक हजारौंको संख्यामा यातायातका साधन यही सडक हुँदै पूर्वपश्चिमको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । प्रहरीको तथ्यांकमा यो सडकमा हरेक २४ घण्टामा ११ हजार देखि १४ हजारभन्दा बढि गाडी ओहोरादोहोर गर्ने गर्छन् ।

बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने-नारायणगढ सडक आयोजनाका प्रमुख रमेश दृष्टि वर्षात्‌मा माटो बगाउने भएकाले काम हुन नसकेको दाबी गर्छन् । वर्षात्‌ले गर्दा काम थालिएका पुल सम्पन्न गर्ने काम भैरहेको भन्दै उनले माटो भर्ने काम अघि बढाउन नसक्ने जानकारी दिए । करिब १७ अर्ब रुपैयाँको लागतमा चिनियाँ ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा लिएको हो ।

बुटवल-दाउन्ने र दाउन्ने-गैंडाकोट गरी दुई खण्डमा विभाजन गरेर सडकको काम थालिएको छ । बुटवल-दाउन्ने पश्चिम खण्डअन्तर्गत पर्ने ४८ किलोमिटरको करिब २० प्रतिशत काम सकिएको छ । दाउन्ने-गैंडाकोट खण्ड ६५ किलोमिटर सडकको १८ प्रतिशतमात्र काम सम्पन्न भएको सडक विभागले जानकारी दियो ।

दाउन्नेदेखि बुटवलसम्मको खण्डमा ८५ वटा कल्भर्ट निर्माणको क्रममा छन् । तीमध्ये ५० वटा मात्र कल्भर्टको धेरैजसो काम सम्पन्न भएको छ । यो सडकमा सबै गरेर २ सय ४० कल्भर्ट निर्माण हुने बताइएको छ । सडक निर्माणको काम ढिलाइ हुनुको मुख्य कारण विद्युत्‌का पोल नसार्नु हो । सडकको दुवै किनारमा रहेका विद्युत्‌को पाल सार्ने काम सडक निर्माणकै ठेकेदारको भए पनि फटाफट काम नगरेका कारण राजमार्गको बिचबिचमा अधिकांश पोल रहेको छ ।

दाउन्ने-गैंडाकोट सडकखण्डको ५ किलोमिटर मात्र साइट निर्माण पूरा भएको छ । दाउन्ने-गैंडाकोट खण्डको अधिकांश भागमा जंगल क्षेत्र पर्ने र त्यहाँ विद्युत्‌को पोल सार्न कुनै समस्या नभए पनि ठेकेदार कम्पनीले काम गरेको छैन । पूर्वी खण्डको २ सय १५ वटा कल्भर्टमध्ये १ सय ३१ वटा निर्माणको चरणमा छ ।

कल्भर्ट र डाइभर्सन सडक बनाइएका स्थानमा खाल्डैखाल्डा छ । दाउन्ने नारायणगढको ६५ किलोमिटर सडक पार गर्न ६ घण्टाभन्दा बढी समय लाग्छ । यो राजमार्ग हुँदै पूर्वपश्चिम ओहोरदोहोर गर्ने दुई पांग्रे र साना गाडीसमेत हिँडाउन नसक्ने अवस्था छ । खाल्डैखाल्डा र पानी जमेका कारण सडक हिलाम्य छ । सडक विस्तारको क्रममा बनाइएका डाइभर्सन सडकको ४ वटा स्थानमा गत एक महिनाको अवधिमा बाढीले ५ पटक राजमार्ग बगाएर यातायात अवरुद्ध भइसकेको छ । वर्षात्‌मा पानी पर्दा हिलाम्य भएर हिँड्नै नसकिने र घाम लाग्दा धुलोले सडक नै नदेखिने अवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस