नारायण शर्मा,
पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारमा ढल निकासको व्यवस्था नहुँदा महेन्द्र राजमार्गमै ढलको पानी बग्ने गरेको छ । घरघरबाट निस्केको फोहर पानी महेन्द्र राजमार्गमा बग्दा दुर्गन्ध बढेको छ ।
गत चैतदेखि यहाँको मुख्य बजार थाना चोक, सभापति चोक, फिलिमहल चोकमा ढलको पानी सोझै राजमार्गमा बग्ने गरेको छ । चैतमा राजमार्ग फराकिलो पार्ने चिनियाँ ठेकेदार कम्पनीले भत्काएको राजमार्गमा बिच्छयाइएको ह्युम पाइप निकालिदिएपछि ढल राजमार्गमा बग्ने गरेको हो । घरघरबाट निस्कने फोहर पानी बगाउने ह्युम पाइप निकालेपछि ढल सोझै राजमार्गमा बग्ने गरेको हो ।
भान्छा, बाथरुम र ट्वाइलेटको पानीसमेत सोझै राजमार्गमा बगाउने गर्दा पैदलयात्री नाक थुनेर हिँड्न बाध्य छन् । पाइप निकालिएको खाल्डा नपुरेका कारण ठूल्ठूला खाल्डामा पानी जमेर दुर्घटनाको जोखिम बढेको छ ।
सडक फराकिलो पार्न पाइप निकालिए पनि वर्षात्का कारण त्यहाँ ढल निर्माण हुन नसकेको सडक विभागले जानकारी दियो । महेन्द्र राजमार्गको उत्तरी भागमा पानी राजमार्गमै बग्ने गरेको छ । कावासोती नगरपालिकाका इन्जिनियर पवन रुपाखेतीले सडक विस्तारको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनीको लापर्बाहीका कारण घरघरबाट निस्कने पानीले निकास नपाउँदा समस्या भएको सुनाए ।
उक्त सडक निर्माणको जिम्मेवारी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ । सडकको क्षेत्राधिकार भित्रको काम भएकाले मर्मतसम्भारको जिम्मेवारी पनि उसैको हुने रुपाखेती बताउँछन् ।
‘त्यसको अनुगमन गर्ने सरकारी निकायको चरम लापर्बाही हो‚’ स्थानीय गोपाल ढकाल भन्छन्‚ ‘यो सडकको अनुगमन निरीक्षण गर्ने निकाय के हेरेर बस्छन् रु राजमार्गमा ढल बग्न थालेको ५ महिना भैसक्योस वर्षात्मा झन् बिजोग भयो‚ कसैलाई वास्ता छैन ।’
राजमार्गमा खाल्डा भएको स्थानमा टायरको संकेत राखेर स्थानीयले पैदलयात्रीलाई सजग बनाएका छन् । सभापति चोक नजिकै राजमार्गका खाल्डाबारे थाहा दिन राजमार्गमा बसको टायर राखिएको छ । राजमार्गको उत्तरतर्फ सडकमै पानी बग्ने गरेकाले पैदलयात्री समस्यामा परेका छन् । बजारबाट मूल सडकमा निस्कन जुत्ता खोल्नुपर्ने अवस्था छ । पाइप निकालिएको स्थानमा पानी भरिएकाले दुर्घटनाको जोखिम बढ्दो छ ।
पुल र कल्भर्ट निर्माण भैरहेको स्थानमा बनाइएको डाइभर्सन सडक जोखिमपूर्ण भएकाले दुर्घटनाको जोखिम दिनहुँ बढ्दो छ । पानी परेको समयमा खाल्डामा पानी जमेर सडक नै नदेखिने अवस्था छ ।