कावासोती । नारायणगढ नारायणी पुलबाट हाम फालेर आइतबार एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार दिउँसो साढे ५ बजेतिर वाग्मती प्रदेश ०३-०३प५९२६ को स्कुटर पुलमाथि रोकेर अन्दाजी ३० वर्षका पुरूष नदीमा हाम फालेका छन् ।
कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार नदीमा बगेर बेपत्ता ती व्यक्तिको थप पहिचान खुलेको छैन । ती व्यक्तिको खोजीमा प्रहरी खटिएको उनले बताए ।
नारायणी नदीको पुलबाट एक साताभित्र तीन जनाले हाम फालेका छन् । भदौ ७ गते खैरहनीकी २६ वर्षीया ऋचा उप्रेती पुलबाट नदीमा हाम फालेर बेपत्ता भएकी छन् । त्यसको भोलिपल्टै भदौ ८ मा भरतपुर-४ का ४९ वर्षीय एक पुरूष पनि पुलबाट नदीमा हाम फालेका थिए । प्रहरीले ती पुरूषको जीवितै उद्धार गरेको थियो ।