कावासोती । नवलपुरमा म्यादी प्रहरीका लागि २ हजार १ सय ५७ जनाको आवेदन परेको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६१३ महिला र एक हजार ५४४ पुरुषको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष पाठकले बताए ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आह्वान गरेको थियो । म्यादी प्रहरीको स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज ९ गतेदेखि असोज १४ गतेसम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने भनिएको छ । नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ ।
म्यादी प्रहरी भर्ना, छनोट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रमअनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ ।
परीक्षामा उत्तीर्ण म्यादी प्रहरीले सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलब, पोसाक र रासन उपलब्ध पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने कार्यालयले जनाएको छ ।