कावासोती । नवलपुरका कतिपय जंगल र मुख्य राजमार्ग वरपर चौपायाहरू छाडा छाड्ने क्रम बढदै गएको छ । बिशेष गरि उन्नत जातका घरपालुवा जर्सी गाईका बाच्छा, बुढा तथा थारा गाई जंगल क्षेत्रमा ल्याई छाड्ने गरेको पाईएको छ ।
गाई बस्तु जंगलमा ल्याई छाड्ने प्रबृति बढ्दै जांदा कतिपय गाई बाच्छा राजमार्गमा चर्दै आउदा दूर्घटनाको जोखिम बढेको यातायातकर्मीहरू बताउछन् । यसै बीच केही दिन देखि कावासोती १२ स्थित खरकट्टा जंगलमा कानमा ट्याग लगाएका दर्जन बढी गाईबस्तु ल्याएर छाडेको पाईएको छ ।
यी गाई बस्तु मध्ये केही दूध थाकेर छाडिएका त कुनै घाईते र अधिकांश बाच्छा रहेकाछन् । ती छाडा गाई बस्तुहरूले पानी समेत खान नपाएको र कतिपय खाडलमा परी घाईते भएको अवस्थामा भेटिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीका अध्यक्ष बाबुराम कंडेलले बताउनु भयो ।
घरपालुवा चौपायालाई दूध आउन्जेल दुहुने र थारो भएपछि जंगलमा छाड्ने गर्दा एकातर्फ सडक दूर्घटनाको जोखिम बढेके छ भने किसानका बाली बिरूवा छाडा गाईबस्तुले खाईदिने गरेको छ ।
यस सम्बन्धमा ट्याग सहितका गाई बस्तुलाई जंगलमा ल्याई छाड्ने पक्षको पहिचान गरि अविलम्ब धनिकै गोठमा पुरयाउने वातावरण बनाउन स्थानीयले सम्बन्धित निकाय संग माग गरेकाछन् ।