कवासोती । हिजो देखि लगातार परेको वर्षाका कारण नारायणी नदिले पुर्याउन सक्ने क्षतिको वडा अध्यक्ष रामभक्त अधिकारी , कोल्हुवा चौकीका प्रहरी प्रमुख सहितको टोलीले निरिक्षण गरेको छ ।
लगातार परेको पानीका कारण नारायणी नदिमा पानीको बहाव बढ्दा मध्यविन्दु नगरपालिका वडा नम्बर २ का बिभिन्न स्थानमा डुबान हुन थालेपछी टोलीले निरिक्षण गरेको हो ।
मध्यविन्दुको सितापुर, नन्दपुर ,सेहरी र भुताहा लगाएत क्षेत्रको वडाअध्यक्ष अधिकारी सहितको टोलीले निरिक्षण गर्दै, साँझसम्म पानीको अझै बहाव बढ्ने र उच्च सर्तकता आसपास पुग्न सक्ने हुँदा सतर्कता अपनाउन वडाबासीलाई आग्रह गर्नुभएको छ ।
नारायणी नदिले पुर्याएको क्षती र आगामी दिनमा पुर्याउन सक्ने क्षतीको पूर्वानुमान गरि यसको रोकथामकालागि लागि योजना बनाउन नदि तटिय क्षेत्रको निरिक्षण गरिएको हो ।
नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह नजिक पुगेको र पानीको सतह बढ्दो क्रम भएकाले सितापुर, नन्दपुर ,सेहरी र भुताहा लगाएतको नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नदीमा अहिले दिउँसो पानीको सतह ७ दशमलव २० मिटर पुगेको छ। देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ ।