कावासोती । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा उम्मेदवारी दर्ता सँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको को छ ।
प्रतिनिधि सभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्ता गठबन्धन बाट प्रतिनिधि सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शशांक कोईराला र नेकपा एमाले बाट उम्मेदवारी दिएका एमालेका केन्द्रिय सदस्य कृष्ण पौडेल बीचको प्रतिस्पर्धा लाई चासोको रुपमा हेरिएको छ भने क्षेत्र नं २ को प्रतिनिधी सभा तर्फ सत्ता गठबन्धन बाट कांग्रेसका विष्णु कुमार कार्की र एमालेका केन्द्रिय सदस्य तिल बहादुर महत बीच प्रतिस्पर्धा हुने देखिएको छ । कोईराला र महत यस अघि पनि क्रमस क्षेत्र नं १ र २ बाट निर्वाचित भएका थिए ।
जिल्लाका प्रतिनिधि सभा २ क्षेत्रका ४ प्रदेश सभाका क्षेत्रमा पनि विशेष गरि सत्ता गठबन्धन बाट र नेकपा एमाले बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रदेश सभा तर्फ क्षेत्र नं १ को “क” मा सत्ता गठबन्धन बाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमाले बाट एमाले केन्द्रिय सदस्य रविन्द्र अधिकारी मैदानमा रहेका छन भने क्षेत्र नं १ को “ख” मा सत्ता गठबन्धन बाट माओवादी केन्द्रका लोक प्रसाद भुर्तेल र एमाले बाट रोशन बहादुर गाहाले उम्मेदवारी दिएका छन ।
त्यसै गरि क्षेत्र नं २ मा प्रदेश सभा तर्फ “क” मा सत्ता गठबन्धन बाट माओवादी केन्द्रका सौगम कुमार सिरपाली र नेकपा एमले बाट पद्यमा जिसीको उम्मेदवारी लाई चासोको रुपमा हेरिएको छ भने प्रदेश सभा तर्फ “ख” मा सत्ता गठबन्धन बाट नेकपा एसका डा। गोपाल खनाल र एमालेका लक्ष्मण बहादुर पाण्डे बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
निर्वाचनको तयारी स्वरूप सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बैठक, भेला सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा लगाएतका दलहरुले बैठक र भेला लाई तीब्रता दिएका छन ।
२ लाख ६० हजार ४ सय ६१ मतदाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि नवलपुरमा मतदाताको संख्या २ लाख ६० हजार ४ सय ६१ पुगेको छ । दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख २४ हजार ३ सय ३६ पुरुष, १ लाख ३६ हजार १ सय २१ महिला र अन्य ४ जना मतदाता रहेका निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा जनाईएको छ ।
आयोगका अनुसार जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा ६२ हजार ५ सय ९६ पुरुष , ६८ हजार ५ सय ८४ महिला र अन्य १ जना गरि जम्मा १ लाख ३१ हजार १ सय ८१ र प्रतिनिधि सभा क्षेत्र नं २ मा ६१ हजार ७ सय ४० पुरुष र ६७ हजार ५ सय ३७ महिला र अन्य ३ जना गरि १ लाख २९ हजार २ सय ८० मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन ।
प्रदेश सभा तर्फ क्षेत्र नं १ को क मा ३० हजार ४ सय ५५ पुरुष, ३३ हजार ०८० महिला गरि ६३ हजार ५ सय ३५, प्रदेश सभा १ ख मा ३२ हजार १ सय ४१ पुरुष, ३५ हजार ५ सय ४ महिला र अन्य १ गरि ६७ हजार ६ सय ४६ मतदाता रहेका आयोगले जनाएको छ । त्यस्तै प्रदेश सभा २ को क मा ३० हजार ९ सय ४३ पुरुष, ३३ हजार ५ सय ७४ महिला र अन्य १ गरि ६४ हजार ५ सय १८ , प्रदेश सभा २ को ख मा ३० हजार ७ सय ९७ पुरुष, ३३ हजार ९ सय ६३ महिला र २ अन्य गरि जम्मा ६४ हजार ७ सय ६२ मतदाता रहेका आयोगले जनाएको छ ।
त्यस्तै निर्वाचन आयोगले जिल्लामा आगामी निर्वाचनका लागि १ सय १३ मतदान स्थल र ३०२ वटा मतदान केन्द्र रहने जनाएको छ । प्रतिनिधि सभा तर्फ क्षेत्र नं १ मा ५७ मतदान स्थल र १५३ मतदान केन्द्र र क्षेत्र नं २ मा ५६ मतदान स्थल र १ सय ४९ मतदान केन्द्र रहेका छन ।
६८ जना उम्मेदवार
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नवलपुरमा आईतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएकामा ८ जनाले उम्मेदवारी फिर्ता गरे पछि उम्मेदवारी दिनेको संख्या ६८ जना पुगेको छ । दुई संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा ५ जना महिलाहरुले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।