२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

तिहारमा चितवनका एउटै किसानले बेचे सात लाखको सयपत्री

२०७९ कार्तिक १६, बुधबार प्रकाशित ( साल अघि) ४२६ पाठक संख्या

तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेचेका हुन् ।

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पु¥याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो ।”

यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उनी बताउँछन् । तिहारको अवधिभर १२ हजार बढी फूलको माला बिक्री भएको उनले बताए । फूल बिक्रीबाट रु सात लाखभन्दा बढी आम्दानी भएको पाख्रिनले जानकारी दिए ।

“मैले उत्पादन गरको फूल सबै जिल्लाभित्रै खपत भयो”, उनले भने, “केही फूल पश्चिम नेपालका जिल्लामा पनि पठाएँ ।” उनले अझै रु चार÷पाँच लाखको फूल अझै बारीमा नै रहेको बताए । “मङसिरमा बिहेको लगन आउँदैछ, त्यो बेला पनि सयपत्री फूल बिक्री हुन्छ, अन्य समयमा पनि फाट्टफुट्ट बिक्री भइरहन्छ”, उनले भने । उनले रु १२ लाखको फूल बेच्दा एक सिजनमा सबै खर्च कटाएर आफूलाई रु छ–सात लाख बचत हुने बताए । डेढ बिघा जग्गाको फूल बिक्री गरिसकेपछि उनले तोरी लगाएका छन् ।

“यसपटक राम्रो व्यापार भयो, २०८० सालको दसैँमा १० बिघा क्षेत्रफलमा सयपत्री फुलाउँछु”, उनले भने, “वरिपरि ढकमक्क फूल फुलेको देख्दा पनि निकै रमाइलो लाग्छ ।” उनले २६ वर्षअघिसम्म काठमाडौँमा पढाउने काम गरेका थिए । “काठमाडौँमा बसेर १० वर्ष पढाउने काम गरेँ”, उनले भने, “त्यो काम छाडेर भरतपुर फर्किएँ र फूलको मोहले नर्सरी सञ्चालन गर्न थालेँ, अन्ततः व्यवसाय नै फूलखेती बन्यो ।”

यसपालिको तिहारमा उनले एउटा मालाको रु एक सयमा बिक्री गरे भने प्रतिकेजी रु चार सयमा बिक्री गरेको बताए । पाख्रिनले १८ वर्षदेखि व्यावसायिकरूपमा फूलखेती गर्दै आएका छन् । पाख्रिनले चितवनमा यो पेसा गर्न थालेको पाँच वर्ष भयो । धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए । उनी भन्छन्, “फूलसँग रमाउने मेरो रुचि हो । सानैदेखि फूलप्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरेँ यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छाडेँ ।”

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस