२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर क्षेत्र नं १: कोइराला र पौडेल बिच रोचक प्रतिष्पर्धा

२०७९ कार्तिक १८, शुक्रबार प्रकाशित ( साल अघि) ९१६ पाठक संख्या

कावासोती । नवलपुर १ मा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका बीपी कोइरालापुत्र डा शशांक कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेल चुनावी मैदानमा होमिएका छन् ।

२०६४ सालयता नवलपुरको यो क्षेत्रबाट जित्दै आएका डा शशांकलाई एमालेका केन्द्रीय सदस्य पौडेलले चुनौती दिएका हुन्। जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारी चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन्। क्षेत्र नं १ को ‘ख’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका लोकप्रसाद भूर्तेल र एमालेबाट निवर्तमान प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले उम्मेदवारी दिएका छन्।

चासोको रुपमा हेरिएको नवलपुरको संघीय क्षेत्र नं १ मा भने नेपाली कांग्रेसबाट लगातार तीन कार्यकाल चुनाव जितेका कांग्रेसका पूर्वमहामन्त्री कोइराला चौथो पटक पनि चुनाव जितेर संसद प्रवेश गर्ने तयारीमा छन्।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारभन्दा ४ हजार २४ मतान्तरले जितेका कोइराला यस पटक पाँचदलीय गठबन्धनको उम्मेदवार बनेर सहज जित निकाल्ने दाउमा छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेसलाई केही सहज देखिन्छ।

नवलपुर क्षेत्र नम्बर १ कांग्रेसको सुरक्षित निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने व्यक्ति भएकाले कोइरालाको विकल्प नभएको कांग्रेसको दाबी छ तर, देशव्यापी रुपमा नयाँ नेतृत्वको खोजी भइरहेको बेला र स्थानीय तह निर्वाचन २०७९ मा यस क्षेत्रमा पर्ने अधिकांश पालिकामा एमालेका उम्मेदवार विजयी भएकाले पौडेल विजयी हुने एमालेको दाबी छ ।

२०६४ सालमा तत्कालीन नवलपरासी -३ बाट संविधानसभा सदस्य बनेका पौडेलले त्यो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अहिलेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई पराजित गरेका थिए। नेकपा एमालले “जनताको सुख होस् या दुःख नजिकै भेटिने नेता खोजौँ” अभियान थालेको छ ।  शशांक कोइराला मात्र नभएर २०४८ सालयता कांग्रेसले जित्दै आएको नवलपुरको यो क्षेत्र विकासमा पछि परेकाले यो पटक एमालेको जित निश्चित भएको दाबी एमालेका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेको छ । उनले भने, ‘जनता नै पौडेलको जितको पहिलो आधार हो । पौडेल लामो समय सम्म निरन्तर सामाजिक सेवा र जनताको घरदैलोमा मर्दाको मलामी र जिउँदोमा जन्ती सँगसँगै छन् । यही जितको आधार हो ।’

पार्टीको आन्तरिक चुनावदेखि आम निर्वाचन कतै पनि पराजय नभोगेका कोइरालाविरुद्ध एमालेले पौडेललाई अघि सार्दा राप्रपाले डा. मोहनीलाल भुसाललाई उतारेको छ । माओवादी केन्द्रले कोइरालालाई सहयोग गर्दा जसपाले एमालेलाई सहयोग गरेको छ।

गठबन्धनले शशांकलाई सहज बाटो बनाएको कांग्रेसका महसमिति सदस्य भरत तिवारीले बताए । कोइराला यो अन्तिम पटक भनेर चुनाव लडेका छन्। उनले आफ्नो निर्वाचन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान, ट्रमा सेन्टर, त्रिवेणीदेखि देवघाटसम्म नारायणीको किनारैकिनार पक्की सडक र विपन्नको जीवनस्तर उकास्न कृषि कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएका छन्।

‘तीन पटकसम्म चुनाव जितिसकेको छु । यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन्। यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उमेदवारको रुपमा अगाडि बढ्ने छु। पार्टी भित्रपनि मैले सोही अनुसार कुराकानी गरेको छु,’ डा कोइरालाले दाबी गर्दै आएका छन्।

डा. शशांक राजनीतिक विश्लेषण गर्न एवं ‘आइडिलोजिकल पोलिटिक्स’मा माहिर मानिन्छन्। उनी धेरै बोल्नेभन्दा पनि सबैसँग मुसुक्क हास्ने र आम नेता कार्यकर्तादेखि मतदातासँग सहज व्यवहार गर्ने भएकाले पनि कोइरालाका लागि सहज हुने कांग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार एंव कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जीसीको भनाई छ । २०६४ सालमा नवलपुरका जनताका मागअनुसार नै डा शशांकलाई यो क्षेत्रबाट उम्मेदवार बनाइएकाले यो पटक पनि उनलाई नवलपुरका जनताले न्याय गर्ने जीसीको भनाई छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा  बुलिङटारका ६ , गैँडाकोटका १८, देवचुलीका १७ र कावासोतीका ११ गरी ५२ वडा रहेका छन् । गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रको गैँडाकोट नगरपालिकामा प्रमुख र उपप्रमुख तथा बुलिङटार गाउँपालिका उपाध्यक्षबाहेक सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष एमालेले जितेको छ ।

नवलपुर क्षेत्र नम्बर १ मा पर्ने ५२ वडामा एमालेका वडाध्यक्षले ४४ हजार सात सय ७७ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षले ४४ हजार एक सय ८८ र माओवादी केन्द्रका वडाध्यक्षले १ हजार नौ सय आठ मत प्राप्त गरेका छन् । माओवादी केन्द्र र कांग्रेस सत्ता गठबन्धनमा रहेका कारण पनि माओवादीको वडाध्यक्षको मत कांग्रेसका उम्मेदवार कोइरालालाई आउने कांग्रेस नेताको दाबी छ । त्यसैगरी यस क्षेत्रमा एमालेका पालिका प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मत ३४ हजार चार सय ४७ (कावासोती नगरपालिकाको समेत जोड्दा ५३ हजार ५५) रहेको छ ।

त्यस्तै कांग्रेसका पालिका प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मत ३५ हजार एक सय छ (कावासोती नगरपालिकाको समेत जोड्दा ५३ हजार चार सय १०) रहेको छ । नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेका छन् । यहाँ ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र तेस्रो लिङ्गी एक मतदाताले ५७ मतदान स्थलका एक सय ५३ मतदान केन्द्रबाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो ।

नवलपुर–१ मा प्रतिनिधिसभातर्फ कोइराला र पौडेलसहित १५ जनाले उम्मेदवारी मनोनयन गराएका छन् । पाँच स्वतन्त्रका साथै जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपालका लागि नेपाली पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसमेत चुनावी मैदानमा छन् । मुख्यतया कोइराला र पौडेलबीच नै चुनावी प्रतिस्पर्धा हुने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस