कावासोती । नवलपुरमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । यी दुवै क्षेत्रमा टक्कर हुन्छ नेकपा एमाले र नेपाली कांग्रेसको । हरेकपटकको चुनावमा क्षेत्र नं १ मा कांग्रेसले आफनो जीत हात पार्दै आएको छ । यता, क्षेत्र नं २ मा भने एमालेले ३१ वर्षदेखि विरासत समाल्दै आएको छ ।
नवलपुर क्षेत्र नम्बर २ लाई एमालेको गढ मानिन्छ । यसपटक भने यो क्षेत्रमा कांग्रेसले जीत निकालेर इतिहास रचेको छ । कांग्रेसका महासमिति सदस्य समेत रहेका बिष्णु कुमार कार्कीले ३६ हजार १ सय ४ मत ल्याउँदै एमालेका तिलक महतलाई हराएका छन् । अघिल्लो पटक यसै क्षेत्रको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका महतले ३४ हजार ८३ मत ल्याए ।
विरासत समाल्दै आएको एमालेको क्षेत्रमा गठबन्धन भर्सेस एमाले मैदान थिए । संघमा बिष्णु कार्की र तिलकबिचको प्रतिस्पर्धा रोचक थियो । बाजी कसले मार्ला, भनि चासो र चर्चा निकै थियो ।
२०६४ सालमा बाहेक यसक्षेत्रबाट एमालेले लगातार जीत हासिल गरेको छ । २०४८ सालपछि हाल सम्पन्न ७ वटा निर्वाचनमा यहा ५ पटक एमाले बिजयी भएको हो । २०६४ साल पछि यस क्षेत्रबाट कांग्रेसले जीत निकाल्न सकेको थिएन् । तर, एमालेले आफनो विरासत २०७४ को निर्वाचनमा पनि बचाउन सफल बन्यो।
२०७४ सालको निर्वाचनमा एमालेका तिलक महतले कांग्रेसका बिष्णु कुमार कार्कीलाई हराएका थिए । त्यससमय तिलकले ३९ हजार ५३ मत ल्याउँदा कार्कीले ३७ हजार ७२० मत ल्याएका थिए । उनै कार्कीले यसपटकको निर्वाचनमा ३१ वर्षपछी एमालेको लाल किल्ला भत्काएर इतिहास रचेका छन् ।
त्यसैले यसपटक कार्कीलाई ३१ किलोको माला लगाउँदै बधाई दिए कांग्रेसकी कार्यकर्ताले । कावासोतीमा मतदातालाई धन्यवाद र बधाई लिन घरदैलोमा हिडेका कार्कीलाई एमालेको लाल किल्ला मानिएको क्षेत्र नं २ मा विजयी भएकाले ३१ किलोको मालाले सम्मान गरिएको थियोे ।