कावासोती । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिबार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो । भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको उनले जानकारी दिए ।
तिवारीका अनुसार प्राकृतिक कारणले गैडाको बच्चा मरेको हुन सक्छ । निकुञ्जको कावासोती क्षेत्रमा माघ ६ गते गैंडाका आमाछोरा तस्करहरूले मारेको पर्सिपल्ट नै गैंडाको बच्चा मरेको भेटिएको हो ।
चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा ११ गैँडा मृत अवस्थामा भेटिएका छन् । ती मध्ये आठ कालगतिले मरेका हुन् । दुई चोरी शिकारीले र एउटा गाउँ छिर्ने समयमा विद्युतीय करेन्ट लागेर मेरेको हो ।