रन्जना भुर्तेल
कोल्हुवा । नवलपुरको मध्यविन्दुमा उत्पादन भएको तरकारीले बजार र मूल्य नपाउँदा किसानहरु असाध्धै चिन्तित बनेका छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा किसानहरुले उत्पादन गरेको तरकारी सस्तोमा बेच्न बाध्य भएका छन् ।
अहिले टमटर प्रतिकिलो रु १२ देखि १८ रुपैयाँ, आलु प्रतिकिलो १८ देखि २२ रुपैयाँ बेच्न बाध्य भएको मध्यविन्दु नगरपालिका वडा नं: २ सेहरिका रमेश थनेत थारुले बताएका छन ।
सस्तोमा तरकारी बेच्दा उत्पादन गर्न लाग्ने खर्च पनि नउठ्ने गरेको उनको भनाई छ । ‘ हामीले धेरै मेहेनत र परीश्रम गरि तरकारी उत्पादन गरेका हुन्छौ’ उहाँले भन्नुभयो‘ तर सस्तो मूल्यमा तरकारी बेच्दा उत्पादन गर्न लाग्ने खर्च पनि उठ्दैन ।’ बजारमा तरकारी महंगो छ, तर किसानको खेतवारीबाट लैजाने व्यापारीले सस्तोमा खोज्ने गरेका छन् । किसानको उत्पादन बजारमा पुग्दा दोब्बरभन्दा बढी मूल्य पुग्ने गरेको छ ।
अर्का अगुवा कृषक लक्ष्मण महतो भन्छन् , “व्यापारीको मनपरीले गर्दा उत्पादित तरकारी बिक्री नै हुन सकेको छैन ।”स्थानीयस्तरमा उत्पादित तरकारी बजारमा पाइँदैन । इन्डियाबाट आएको तरकारीले कावासोती र नारायणघाटको बजार ढाकेको छ । “व्यावसायिक कृषकहरू सबै निराश छन्,” सेहरिका अगुवा कृषक दुलालि महतोले भने ।
मध्यविन्दुमा मात्र हैन जिल्लाका अधिकांश कृषकको गुनासो यस्तै छ । जिल्लाको तल्लो भेगमा सबैभन्दा बढी तरकारी उत्पादन हुने गरेको मध्यविन्दु २ सेहरिका कृषक रमेश थनेत थारुले नवलपुर न्युजलाई बताएका हुन् । उनले भने सरकारले अनुदान भन्दा पनि बजार व्यवस्थापन गरिदिए हुन्थ्यो । उत्पादन भएको चिज बेच्दा मुल्य नपाएपछि अनुदानको कुनैपनि अर्थ नरहेको बताए ।
मध्यविन्दुमा सामुहीक रुपमा पनि तरकारी खेती हुँदै आएको छ । त्यहँका नागरिक तरकारी खेतीमै निर्भर हुने गरेका छन् । सिंचाईको सहज सुबिधा भएकाले पनि त्यहाँ राम्रो तरकारी उत्पादन हुनेगर्छ । जिल्लामा लहरे तरकारी, बैगन , चिचिन्डा, फर्सीफ ,टमटर , आलु सागलगायतका तरकारी उत्पादन भइरहेको छ तर बजार नपाउँदा खेतमै कुहिन अवस्था रहेको छ।