नारायण शर्मा
पूर्वी नवलपरासी — निर्माणाधीन महेन्द्र राजमार्गमा धुलो उडेर हिँड्नै मुस्किल भएपछि यसको विरोध गर्दै १७ नम्बर चोकमा स्थानीयहरूले शुक्रबार साँझ यातायात अवरुद्ध पारेका छन् । धुलाम्य सडकमा दिउँसै बत्ती बालेर सवारी चलाउनुपर्ने भएपछि सडक निर्माण कार्य तीव्र बनाउनुपर्ने स्थानीयहरूले माग गरेका छन् ।
धुलोले राजमार्ग देखिन्न हिँड्न नसकिने भयो, स्थानीय अनिरुद्र सापकोटा भन्छन्, सडकमा धुलो नियन्त्रणका लागि पानी हाल्नुपर्ने व्यवस्था भए पनि ठेकेदारले पानी हाल्दैन । सडकको धुलो रोक्न आग्रह गर्दा नमानेपछि बाध्य भएर विरोधमा उत्रिएका हौं । गैंडाकोट नगरपालिका वडा नम्बर १४, १५, १६ र १७ का स्थानीय बासिन्दाहरू विरोधमा उत्रिएका हुन् । गैंडाकोट नगरपालिका वडा नं १७ का अध्यक्ष गोपी कंडेलका अनुसार शुक्रबार साँझ सवा ७ बजेसम्म पनि राजमार्ग अवरुद्ध नै छ ।
स्थानीयले शुक्रबार गैंडाकोटमा पर्ने महेन्द्र राजमार्गको अमरापुरी चोकमा राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग आसपासका घरहरुमा धुलोले बस्नै नसकिने भएको स्थानीयहरूको गुनासो छ । धुलो उडेर एक किलोमिटर टाढाका घरमा पुग्ने गरेको उनीहरू बताउँछन् । राजमार्ग बनाउन भन्दै पक्की सडक भत्काएको ४ वर्ष भइसक्दा पनि मर्मत भएको छैन ।
राजमार्ग आसपासका घरमा बस्न सकिने अवस्था नभएका कारण ठेकेदार कम्पनीको ध्यानकर्षण गराउन स्थानीयले विरोध गरेको बताएका छन् । वडा नं १७ का अध्यक्ष कँडेलका अनुसार एक सय १४ किलोमिटर लामो सडक निर्माण गर्न चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियर कर्पोरेसनले १७ अर्बमा ठेक्का लिएको हो । गत साउन २२ गतेअघि नै राजमार्ग निर्माणको काम सकेर सडक हस्तान्तरण गर्नपर्नेमा फागुनको अन्तिम सातासम्म २४ प्रतिशत मात्र कार्यप्रगति भएको छ । राजमार्गमा खाल्डैखाल्डा र धुलाम्य सडकले यात्रा कष्टकर भएको छ ।
चिनियाँ ठेकेदार कम्पनीले गरिरहेको काम हेर्ने सडक विभागले पनि कुनै कारबाही अगाडि बढाउन नसकेको स्थानीयको गुनासो छ । शुक्रबार राजमार्ग अवरुद्ध गर्न स्थानीयहरूसँगै वडा अध्यक्षहरू पनि सडकमा निस्किएर ऐक्यबद्धता जनाएका थिए । अवरुद्ध सडक खुलाउन साँझ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैबीच शुक्रबार पूर्वी नवलपरासी आएका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राजमार्गको काम निर्धारित समयमै सम्पन्न नभए चिनियाँ ठेकेदारसँगको सम्झौता रद्ध गर्ने चेतावनी दिएका छन् ।