२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

महिला भलिवल खेलाडी उत्पादन गर्दै गण्डकी प्रदेश खेलकुद परिषद

२०८० जेष्ठ ४, बिहिबार प्रकाशित ( साल अघि) १३०२ पाठक संख्या

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीले अघि सारेको ‘खेल्छ गण्डकी’ कार्यक्रम गण्डकी प्रदेशको महिला भलिवल खेलको विकासमा अघि बढ्ने भएको छ । परिषदको बुधबार बसेको बैठकले उक्त कार्यक्रममार्फत प्रदेशको भलिवल खेल विकासका लागि अघि बढाउने निर्णय गरेको हो ।

परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै परिषदका सदस्य तथा कार्यक्रम संयोजक खगेन्द्र क्षेत्रीले प्रदेशको महिला भलिवल खेलाडी उत्पादन कमजोर बन्दै गएको भन्दै सो रकम खेलाडी उत्पादनमा खर्च गरिने बताए ।

नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिवलमा पछिल्लो समय प्रदेशको टिम कमजोर बन्दै जानु सबैका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले ‘खेल्छ गण्डकी’ मार्फत सुरुआती चरणमा महिला भलिवल खेलाडी उत्पादनमा खर्च गर्नुपर्ने बताए । आव ०७९÷०८० का लागि विनियोजित रकमको ३० लाख रुपैयाँमार्फत सो कार्यक्रम सञ्चालन गरिने परिषदले निर्णय गरेको छ ।

कार्यक्रम मार्फत हालै एसइई दिएर बसेका विद्यार्थीलाई ट्यालेन्ट हन्टको माध्यमबाट ११ वटै जिल्लाबाट ४० जना महिला भलिवल खेलाडीलाई पोखरामा १० दिने आवासीय सुविधासहितको प्रशिक्षण दिइने छ ।

कार्यक्रम अन्तर्गत ४० जनाबाट १२ जना छनौट गरी उनीहरुलाई पोखरामा नै राखेर छात्रवृत्तिमा ११ र १२ कक्षा अध्ययन गर्ने सुविधाका लागि समेत परिषदले समन्वय गर्ने भएको छ । यसका लागि उच्च मावि शिक्षा परिषद गण्डकी, निजी विद्यालयहरु, निजी क्षेत्रको सहभागिता, भलिवल संघ, शिक्षा मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने परिषदले जनाएको छ ।

खेल्छ गण्डकी कार्यक्रम प्रदेशकै खेलकुद विकासका लागि महत्वपूर्ण कार्यक्रम रहेको भन्दै सदस्य सचिव श्रीधर शर्माले पहिलो चरणमा महिला भलिवल खेलाडी उत्पादनका लागि खर्च गरिने भएपनि क्रमैसँग आगामी दिनमा सबै खेलहरुका लागि सुरुवात गरिने बताए ।

उनका अनुसार कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक महत्वपूर्ण र सकारात्मक कार्यक्रम हो । महिला भलिवलबाट सुरुवात भएसँगै अन्य खेललाई क्रमैसँग यस प्रकारका परियोजना अघि बढाउने र १०औं राष्ट्रिय खेलकुदमा सर्वाधिक पदक जित्ने लक्ष्यका साथ अघि बढ्ने उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%९%४%१%१%

प्रतिक्रिया दिनुहोस