चोरमारा । नवलपुरको अरुणखोलाको पुलमुनि खनेको खाल्डोमा बनेको रहमा डुबेर एक बालकको मंगलबार साँझ मृत्यु भएको छ ।
महेन्द्रराजमार्ग फराकिलो पार्ने जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले पुलको खाम्बा बनाउन खनेको खाल्डोमा परेको रहमा पौडिन गरेका मध्यविन्दु – १० टाडीका १३ वर्षीय बालक महेश खान्गाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन श्रेष्ठका अनुसार आफ्ना साथीहरूसँग रहमा पौडिन गएका ती बालक पानीको दहबाट अचेत अवस्थामा उद्धाए गरि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याईएको थियो । बालक महेशको अहिले साँझ साढे ५ बजे मृत्यु भएको हो ।
कम्पनीले खाल्डो खनेपछि त्यसको सुरक्षा नगर्दा बालकको ज्यान गएको भन्दै स्थानीयहरूले भने विरोध गरेका छन् ।
गएको शनिबार पनि कालीगण्डकी नदिमा पौडी खेल्न जादा दुईजनाको डुबेर मृत्यु भएको थियो भने सोमबार अरुणखोलाको मुखे ढुङ्गा रहमा पौडी खेल्न गएका शिक्षकको डुबेर ज्यान गएको थियो ।