नवलपरासी । प्रहरीले पश्चिम नवलपरासीको सेमरीबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रतापपुर गाउँपालिका १ बाहुनगढीमा यूपी ५३ बीडी ५०९० भारतीय नम्बर प्लेट भएको मोटरसाइल जाँच गर्दा लागूऔषधसहित दुई जना युवा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार प्रतापपुर गाउँपालिका २ सेमरीका २७ वर्षीय आकाश धरिकार र ३५ वर्षीय किशोर केवट पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेकाहरूबाट ४ सय ७५ ट्याब्लेट प्रोसिक्सो स्पास र टोरसेरेक्स १० बोतल बरामद गरेको छ ।
पक्राउ परेका युवासँग सोधपुछ गर्दा प्रतापपुर १ बस्ने कमला खाण ठकुरीका लागि भारतबाट लागूऔषध ल्याएको बताएपछि खाँणको घरमा खानतलासी गरेको थियो ।
खाणलाई पक्राउ गरेर घर खानतलासी गर्दा प्रोसिक्सो स्पास ८९ क्याप्सुल, नित्रा भेट ३७८ ट्याब्लेट, ओनेरेक्स १ बोतल र टोरसेरेक्स १ बोतल बरामद गरिएको थियो । पक्राउ परेका तीनै जनामाथि लागूऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।