नवलपुर । सुस्तगतिमा विस्तारको काम भइरहेको महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद ( ठेक्का अवधि ) एक वर्ष थप गरिएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ ।
सुरुवाती ठेक्का सम्झौताअनुसार २०७९ को साउनमा सडक विस्तारको काम सकिनुपथ्र्यो। तर समयमै काम नसकिएपछि दोस्रो पटक थप एक वर्षको लागि म्याद थप गरिएको हो। एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने गरी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले ठेक्का लिएर २०७५ चैतबाट निर्माण सुरु भई ४२ महिनाभित्र सम्पन्न गर्ने सम्झौता थियो ।
आयोजनाका अनुसार आयोजनाका भौतिक प्रगति जम्मा ३८ प्रतिशत मात्र भएको छ । दुई खण्डमा विभाजन भएको सडकको काम पश्चिम भन्दा पूर्वमा धेरै भएको छ ।
हालसम्म दाउन्ने पूर्व खण्डमा ४० प्रतिशत र दाउन्ने पश्चिम खण्डमा ३६ प्रतिशत काम भएको छ । त्यस्तै, खर्चको हिसावले पूर्वमा २९ प्रतिशत र पश्चिममा २३ प्रतिशत भएको छ ।
गैँडाकोट–दाउन्ने सडक खण्डमा पर्ने ६५ किमी खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ।
सवारी चाप बढेपछि पूर्वपश्चिम राजमार्गको मध्यखण्ड नारायणगढ– बुटवलको ११४ किलोमिटर सडक सहरी भेगमा ‘सिक्स लेन’ र जङ्गली क्षेत्रमा ‘फोर लेन’ मा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो ।