२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जग्गा नापजाँच तीव्र,भूमिहीनलाई लालपुर्जा पाउने आशा जाग्यो

२०८० भाद्र १८, सोमबार प्रकाशित ( साल अघि) २१०४ पाठक संख्या

मीना कँडेल

कावासोती । पूर्वी नवलपरासीमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरणको काम अघि बढाइएकोे छ  । अहिलेसम्म जिल्लामा १०६ जनाले लालपूर्जा पाइसकेका छन् ।

राष्ट्रिय भूमि आयोग, जिल्ला आयोग नवलपुरले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको हो । कावासोती नगरपालिका –१ की माया भुषाल अहिले नापीको काम सकिएपछि अब जग्गाधनी पुर्जा पाउने विश्वास भएको बताउनुभयो ।

लामो समयसम्म आफुले जोतभोग गरेको जग्गाको पूर्जा नहुँदा समस्या भएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “मेरो कमाइ छैन्, श्रीमानको मृत्यु भएपछि आफ्ना साना छोराछोरीको शिक्षादीक्षा, स्वास्थ्यमा खर्च गर्न जग्गा धितो राखेर ऋण निकाल्न पनि लालपूर्जा नभएकाले समस्या भयो ।” यस पटक भने उहाँ हातमा लालपुर्जा पाउने आशमा खुसी देखिनुभएको छ ।

स्थानीय लक्ष्मी विकले जग्गाधनी पुर्जा नहुँदा निकै समस्या भोगेको जनाउँदै अब सजिलो हुने विश्वास व्यक्त गर्नुभयो । अहिले त हामीले खेती गर्दै आएको जग्गा नापेर गएको छ । अब छिट्टै जमिनको पुर्जा आउने थाहा पाउँदा खुसी लागेको बताउनुभयो ।

जिल्लाको गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा जग्गा नापजाँचको कार्य अघि बढिरहेको जिल्ला भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म १०६ जनाले लालपुर्जा प्राप्त गरिसकेका छन्, ६० पुर्जा तयार भएको केही दिनपछि नै वितरण गर्ने तयारीमा छौँ ।”

४२ पुर्जा तयार हुँदैगरेको पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष खरेलले बताउनुभयो । कावासोती नगरपालिकामा ७ हजार ४०५, देवचुली नगरपालिकामा १२ हजार ५४९, गैंडाकोट नगरपालिकामा ४ हजार ६३६, मध्यबिन्दु नगरपालिकामा ७ हजार ६६९, हुप्सेकोट गाउँपालिकामा २ हजार ४६७ विनयीत्रिवेणी गाउँपालिकाको एक वडामा ४१५, बौदिकाली गाउँपालिकाको एक वडामा ४३८ गरी नवलपुरमा प्रवृष्टि भएका २७ हजार र हुन बाँकी रहेका १३ हजार गरेर ३९ हजार छन् ।

३ देखि ४ हजार छिटपुट गरेर ४० देखि ४५ हजार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेको राष्ट्रिय भूमि आयोग नवलपुरका जिल्ला अध्यक्ष खरेलले बताउनुभयो । जिल्लाको विनयीत्रिवेणी गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकामा भने प्रविष्टि हुन बाँकी रहेको उहाँको भनाइ छ ।

“हुप्सेकोटको एउटा वडाको काम भएकाले त्यहाँ लालपुर्जा वितरण गरिसकिएको छ । भूमिहीन दलित ४९ र भूमिहीन सुकुम्बासीलाई ५६ थान पूर्जा वितरण गरिसकेका छौँ । अव्यवस्थित वडाका १०२ जनामध्ये ६० जनाको पुर्जा तयार भइसकेको छ । हामीले सवा करोड राजस्व पनि उठाइसकेका छौँ” राष्ट्रिय भूमि आयोग नवलपुरका जिल्ला सदस्य सुस्मा अर्यालले बताउनुभयो ।

आफुले जोतभोग गर्दैआएको जग्गाको मालिक बनाउने काममा सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासीको सबै वडामा जतिसक्दो चाँडै नापीको काम सक्दै पुर्जा वितरणका लागि पालिकाले पूर्णरुपमा सहजीकरण र आफ्नो भूमिका अनुसारको काम गर्ने नगर प्रमुख विष्णु भुसालले बताउनुभयो । साभार :-  गोरखापत्र अनलाइन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१७%१०%१%१%२%

प्रतिक्रिया दिनुहोस