कावासोती । जिल्लाको सुरक्षाका लागी नयाँ कार्यायोजना तयार गरिएको छ । नवलपुरमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेशिन जडान गरिने भएको हो ।
बुटबल – नारायणघाट सडक खण्डको दुर्घटना कम गराउने उद्देश्यले जिल्लाका तीन ठाउँमा गाडी स्क्यान ( अत्याधुनिक मेसिन ) जडान गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।
प्रमुख तिवारीका अनुसार गैडाकोट, दाउन्ने र जिल्ला प्रहरी कार्यालयमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेशिन, चेकपोष्ट र सीसी टिभि जडान गरिदिने भएको हो ।
उक्त मेशिनले सवारी साधनसहित चालक एवं आवश्यकता अनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ । यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले नेपाल सरकारलाई आग्रह गरेको र गृहमन्त्री नारायणकाजी श्रेष्ठ यसअघि भौतिक पूर्वाधान मन्त्री भएको बेलामा सडक आयोजनासँगको परामर्शमा आयोजनाले नै यी उपकरणहरु राखिदिन सहमति जनाएको हो ।
गाडी स्क्यान गर्ने मेसिन, चेकपोष्ट र सीसीटीभिका लागि झण्डै छ करोड रुपियाँ लाग्ने बताइएको छ । यो रकम एशियाली विकास बैंक एडीबीले व्यहोर्ने छ ।
सडक निर्माणको कामले पूर्णता पाएसँगै यो काम पनि सम्पन्न हुने तिवारीले बताउनुभयो । अहिले नारायणघाट–बुटबल सडक सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ४० प्रतिशत भौतिक प्रगति भएको छ ।