२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरका किसान: च्याउ खेती गरेर जीवनस्तर उकास्दै

२०८० भाद्र २२, शुक्रबार प्रकाशित ( साल अघि) ४६५ पाठक संख्या

कावासोती । नवलपुरमा च्याउ खेतीलाई रोजगारीको आधार बनाई किसानले मनग्य आम्दानी लिन थालेका छन् । यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका हुन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ ।

कावासोती नगरपालिका– ८ मा रहेको पर्वत सेन ठकुरी कृषि फार्मका सञ्चालक ६० वर्षीय टीकाप्रताप सेन ठकुरीले कन्य च्याउको खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

झण्डै तीन वर्षअघि २२ लाख लगानी गरेको च्याउ व्यवसायबाट एउटै टनेलबाट पहिलो लटमै दुई लाख रुपियाँसम्म आम्दानी हुने गरेको ठकुरीको भनाई छ । उहाँको कृषि फार्ममा च्याउ लगाउन १० वटा टनेल छन्।

ठकुरीका अनुसार च्याउ उत्पादनको ९० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ । कहिले काही बाँकी रहेको  १० प्रतिशत नारायणघाट बजार पुग्छ । च्याउको स्थानीय होलसेल मुल्य  प्रतिकेजी दुई सय रुपियाँमा बेच्ने गर्नु हुन्छ । कावासोती, देवचुलीलगायत स्थानीय बजारका व्यापारी च्याउ लिन फार्ममै आउँछन् ।

च्याउ खेतीले नवलपुर जिल्ला देशकै अग्र स्थानमा पर्दछ र यो जिल्ला च्याउ उत्पादन हुने जिल्लाका रुपमा अगाडि रहेको छ । ब्यबसायिक रुपमा कावासोती, मध्यबिन्दु, देबचुली, गैंडाकोट नगरपालिका, हुप्सेकोट र बिनयीत्रिबेणी गाउँपालिका च्याउ खेतीका लागि जिल्लामै धेरै अगाडि रहेको छ ।

त्यस्तै अर्का कृषक गैँडाकोट–१ मा अनिता च्याउ फार्मको नाममा अनिता न्यौपानेले च्याउ खेती गर्दै आइरनुभएको छ। उहाँले भन्नुभयो, “श्रीमान् कोरोनाका कारण कतारबाट घर फर्किएपछि च्याउ खेती सुरु गरेको हो, सुरुमा त बिग्रियो, घाटा पनि लाग्यो पछि राम्रो हुँदै आयो।”

गैँडाकोट–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक कर्णलाल श्रेष्ठले तिन वटा टनेलमा च्याउखेती गर्नुभएको छ । तीन वर्ष अघि च्याउखेती गर्ने तरिकाको बारेमा तालिम लिएपछि घरमै टनेल बनाएर व्यावसायिक रुपमा खेती सुरु गरेको श्रेष्ठले बताउनुभयो । सुरुमा आफूले खानका लागि मात्र लगाएको थिए, अहिले यहि च्याउ बेचेर घरपरिवार टार्ने गरेको छु, श्रेष्ठले भनुभो, ‘विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा नै दोब्बर आम्दानी गर्न सकिने रहेछ । ६५ लाख रुपियाँ लगानीमा सुरु गरेको च्याउ खेती अहिले श्रेष्ठले मासिक एक लाख रुपियाँसम्म आम्दानी गर्दै आएको बताउनुभयो ।

नवलपुरमा च्याउ खेती नमूनाका रुपमा रहेको र यसतर्फ हजारौं कृषक व्यवसायिक रुपमा लागी परेका कृषि ज्ञान केन्द्रले जनाएको छ । नगरपालिकाले किसानका लागि सहयोग र अनुदानका कार्यक्रमसँगै प्रोत्साहन गरेकोले किसानहरु च्याउखेतीमा आकर्षण भएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस