कावासोती । नवलपुरमा अघिल्लो वर्षको तुलनामा यसवर्ष दशैंको अवधिमा सवारी दुर्घटनामा कमी आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार, जिल्लामा घटस्थापनादेखि पूर्णिमासम्म ८ वटा सवारी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका थिए ।
सवारी दुर्घटनामा हुनुको मुख्य कारण चालकको लापरवाही हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालकको लापरबाही, साँघुरा सडक र क्षमताभन्दा बढी यात्रुले गर्दा सवारी दुर्घटना हुने गरेको हो । चाडपर्वको बेला हुने सवारी दुर्घटना हुँदा चाडपर्व खल्लो हुने गरेको छ।
यसैबीच दशैँको अवधिमा नवलपुरमा ट्राफिक प्रहरीले ८ सय ९९ सवारी साधनमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरेर ७ लाख ११ हजार ५०० राजस्वसमेत संकलन भएको ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो ।
सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र लाइसेन्स नभएका, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।
नवलपुरमा यसपालिको दशैँ शान्तिपूर्ण भएको छ । वडादशैको अवधीमा मात्रै २ सय ४० जना सवारी चालक मापसे कारवाहीमा परेका छन् । यसवर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालयले दशैतिहार लक्षित विशेष सुरक्ष, जाँच तथा अनुगमनमा कडाई गरेको थियो ।