कावासोती । नारायणगढ – बुटवल सडक विस्तारको काम अलपत्र पारेको भन्दै गैँडाकोट लगायतका स्थानमा स्थानीयले सरकार र ठेकेदारविरुद्ध नाराबाजी गरेका छन् ।
शिलान्यास भएको ६ वर्षसम्म पनि सडकले पूर्णता नपाएका भन्दै नागरिकले सांकेतिक रुपमा सडक बन्द गरी विरोध जनाएका हुन् ।
‘बाटो अलपत्र पारेर ठेकेदार कता हरायो ? ’ ‘बाटो कहिले बन्छ सरकार ? ’ लगायतका प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए ।
सडक विस्तारको काम थालेको ३ वर्षमा सम्पन्न गरिसक्नु पर्नेमा करिब ५ वर्ष पुग्दासम्म पनि ३५ प्रतिशत भन्दा बढी काम गर्न नसकेको भन्दै ठेकदार चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनविरुद्ध मंगलबार भेडाबारीमा स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेका थिए ।
सरकारको बेवास्ता र ठेकदारको चरम लापरबाहीविरुद्ध दबाब दिन आज गैंडाकोट नगरपालिका ११ भेडाबारीमा स्थानीयले आधाघन्टा चक्का जाम गरेर विरोध जनाएका हुन् । राजमार्ग ठप्प पार्दा यात्रुले समेत साथ दिएको स्थानीय लुकास धितालले बताए ।