कावासोती । नवलपुरमा नागरिकता बनाउने भन्दा राहदानी ( पासपोर्ट ) बनाउनेको सङ्ख्या धेरै देखिएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै देखिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको छ महिनाको अवधिमा साउन देखी पौष मसान्त सम्म ४ हजार ६८ जनाले नयाँ नागरिकता बनाएका छन् भने पासपोर्ट बनाउनेको सङ्ख्या दोब्बर ९ हजार १ सय ८९ पुगेको छ । पासपोर्टबाट मात्रै करिब ४ करोड ७७ लाख राजस्व संकलन भएको छ ।
नवलपुरबाट १८ जनाले गैरआवासीय नागरिकताको प्रमाणपत्र लिएका छन् । सरकारी व्यवस्था पछि पछिल्लो ३ महिनामा १८ जनाले यस्तो नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो ।