२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरका किसान: लालपुर्जा नहुँदा वन्यजन्तु पीडितले क्षतिपूर्ति पाएनन्

२०८० माघ १५, सोमबार प्रकाशित (0 महिना अघि) ७२५ पाठक संख्या

नवलपुर । नवलपरासी ( बर्दघाट- सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका – ३ की खिमादेवी उपाध्यायले यस वर्ष आफ्नो बारीमा तरुलखेती गर्नुभएन । विगतका वर्षमा तरुलखेती देखिने उहाँको बारीमा यस वर्ष कोदोखेती गर्नुभयो ।

“बारीमा लगाएको तरुल बँदेल आएर सबै खाइदिन्छ”, उहाँले भन्नुभयो, “उत्पादन भएको तरुल बिक्री गर्ने त परको कुरा हो, आफूले खानसमेत पाइँदैन, त्यसैले तरुल लगाउनै छाडे ।” उहाँका अनुसार गत वर्ष करिब सात कठ्ठा जमिनमा लगाइएको तरुल सबै बँदेलले खाइदिएको छ । “बँदेलले तरुल खाएपछि वडा तथा मध्यवर्तीमा गुनासो गरेको थिएँ”, उहाँले भन्नुभयो, “बारीको लालपुर्जा आएको छैन, त्यसैले वन्यजन्तुका कारण हुने क्षतिको राहत पाइनँ ।”

करिब ४० वर्षदेखि आफू यस ठाउँमा बस्दै आएको उल्लेख गर्दै उपाध्यायले जग्गाको पटक पटक नापी भए पनि लालपुर्जा नपाउँदा बारीमा जङ्गली जनावरले पुर्याएको क्षतिको राहत नपाएको गुनासो गर्नुभयो । “सरकारले हामीलाई लालपुर्जा पनि दिँदैन, हाम्रो गाउँमा वन्यजन्तु आएर बाली नष्ट गर्दा क्षतिपूर्ति पाइँदैन”, उहाँले भन्नुभयो, “हाम्रो गाउँमा मेरो बारीको वरिपरि रहेका अन्य बारीको लालपुर्जा छ, तर मेरो छैन ।” उहाँले गाउँमा रहेका आधाभन्दा बढी जग्गाको लालपुर्जा नभएको बताउनुभयो ।

मध्यविन्दु- ३ कै नन्दे गुरुङ अहिले व्यावसायिक तरकारीखेतीतर्फ लाग्नुभएको छ । उहाँले विगतका वर्षमा यस समयमा मकै लगाउने गरेको जनाउँदै बँदेलका कारण मकै भित्र्याउन नपाएपछि अहिले खेती परिवर्तन गरेको बताउनुभयो । “मैले यस पटक बर्खामा पनि मकैखेती गरिनँ”, उहाँले भन्नुभयो, “मकैको हारी पस्न ९घोगा लाग्न० सुरु भएपछि बारीमा बँदेल पसेर सबै मकैमा क्षति पुर्याउने गर्छ”, उहाँले भन्नुभयो, “रातिमा जङ्गली जनावर आएर बारीमा पस्ने भएकाले खेती कुर्नुभन्दा खेती नै परिवर्तन गरेँ ।”

गुरुङले अहिले आफ्नो करिब एक बिघा जमिनमा टमाटर, काँक्रा, करेला, काउलीलगायत तरकारीखेती गर्नुभएको छ । “जग्गाको लालपुर्जा पाएको छैन”, उहाँले भन्नुभयो, “लालपुर्जा नभएको जग्गामा वन्यजन्तु आएर गरेको क्षतिको राहत पनि नपाइने रहेछ, त्यसैले वन्यजन्तुले कम क्षति पुर्याउने खेती गर्न सुरु गरेको हो ।”

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँसँगै मध्यवर्तीका धेरै बासिन्दाले आफ्नो अन्नबालीमा वन्यजन्तुले क्षति पुर्याउँदा राहत पाउन सकेका छैनन् । चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेशप्रसाद तिवारीले धेरै किसानले अन्नबालीमा वन्यजन्तुले क्षति पुर्याएको गुनासो गर्ने गरेको भए पनि सबैलाई राहत उपलब्ध गराउन नसकिएको बताउनुभयो ।

“लालपुर्जा भएको जग्गामा गरिएको खेतीमा वन्यजन्तुले क्षति पुर्याएमा राहत दिन मिल्छ”, उहाँले भन्नुभयो, “तर लालपुर्जा नभएको जग्गामा वन्यजन्तुले क्षति पुर्याएको अवस्थामा राहत दिन नमिल्ने कानुनी व्यवस्था छ ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ उपदफा ‘क’ का आधारमा निर्माण गरिएको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका-२०८०’ मा कस्ता वन्यजन्तुले धनजनको क्षति पुर्याएमा राहत प्रदान गर्न मिल्ने भनेर उल्लेख गरिएको तिवारीले बताउनुभयो ।

निर्देशिकाको अनुसूची १ मा वन्यजन्तुले पुर्याएको क्षतिबापत पाउने राहतको विवरण उल्लेख गरिएको भए पनि अनुसूची २ ले लालपुर्जा नहुने जग्गामा गरिएको खेतीमा राहत पाउनबाट वञ्चित गरेको तिवारीले बताउनुभयो । वन्यजन्तुबाट भएको क्षतिको राहत रकम प्राप्त गर्न पेस गर्नुपर्ने कागजात तथा प्रमाणको बुँदा नम्बर ९ ले वन्यजन्तुबाट भएको क्षतिको राहत रकम लिनका लागि ‘घर-जग्गाधनी पुर्जा’ पेस गनुपर्ने भनी उल्लेख गरेको तिवारीको भनाइ छ ।

“मध्यवर्तीका धेरै किसानले लगाउनुभएको बाली वन्यजन्तुले क्षति पुर्याएको हामीले पनि देख्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “लालपुर्जा नभएको जग्गामा वन्यजन्तुले पुर्याएको क्षतिको राहत दिने भनेर कानुनले नभनेका कारण पीडित किसान क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपरेको छ ।” रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस