२०८१ आश्विन ३, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा फोहरको वर्गिकरण र जैविक मल उत्पादन

२०८१ आश्विन १, मंगलबार प्रकाशित ( दिन अघि) १०३ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाको फोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रको मंगलबार उद्घाटन गर्नुभयो ।

शहरी क्षेत्रमा फोहोरमैला व्यवस्थापन चुनौती बन्दै जादा मध्यविन्दु नगरपालिकाले भने फोहोरबाट जैविक मल उत्पादन थालेको हो । केन्द्रको उद्घाट गर्दै मुख्यमन्त्री पाण्डेले विश्वव्यापी रुपमा वातावरण संरक्षणको मुद्दा उठ्दै गर्दा मध्यविन्दु नगरपालिकाले फोहरको वर्गिकरण गरेर त्यसको व्यवस्थापन गर्नु अनुकरणीय कार्य भएको बताउनुभयो ।

उहाँले मध्यविन्दु नगरपालिकाले थालेको नवप्रवर्तन कार्यलाई प्रदेश सरकारको तर्फबाट अन्य स्थानीय तहहरुमा समेत विस्तार गर्नका लागि पहल गर्ने बताउनु भएको छ । गण्डकी प्रदेश सरकारको समेत साझेदारीमा सञ्चालित कार्यक्रमबाट प्राप्त प्रतिक्रियाहरुकाले प्रदेश सरकार उत्साहित भएको उहाँले उल्लेख गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भिमलाल अधिकारीले फोहर व्यवस्थापनमा नागरिकहरुको सहभागिताको विषयमा उठाउनु भएको सवाललाई उल्लेख गर्दै उहाँले नागरिकहरुको सहभागिता विना हुने कुनैपनि कार्य दिगो हुन नसक्ने बताउनुभयो । नगर प्रमुख अधिकारीले फोहर व्यवस्थापन शुल्क र जनसहभागिताको विषयमा कार्यक्रमको शुरुवातमा विषय उठान गर्नु भएको थियो । मुख्यमन्त्री पाण्डेले फोहर व्यवस्थापन मात्रै नभई हरेक विकास निर्माणमा नागरिकहरुको सहभागिता र साझेदारीलाई प्रवर्धन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

मध्यविन्दु नगरपालिकाको वडा नं ११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको स्थापना गरिएको छ । हाल सम्म फोहर व्यवस्थापनमा कुल चार करोड ३७ लाख ९८ हजार तिन सय ७४ रुपैयाँ खर्च भएको छ । जस मध्य पुँजिगत तर्फ तिन करोड दुई लाख १६ हजार तिन सय ६४ रुपैयाँ खर्च भएको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो । यस मध्य गण्डकी प्रदेश सरकारको साझेदारी कार्यक्रमबाट एक करोड ३५ लाख ८२ हजार नै रुपौयाँ खर्च भएको छ ।

मध्यविन्दुमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाले घरबाट नै फोहरको वर्गीकरण अनिवार्य गरेको छ । कुहिने र नकुहिने गरी छुट्टाछुट्टै दिन फोहोर संकलन हुन्छ । यसरी संकलित फोहरमध्ये नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने फोहोरछुट्टाएर बिक्रि हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिन्छ ।

फोहरलाई कसरी अधिकतम पुनः प्रयोग गर्न सकिन्छ भन्ने तर्फ मध्यविन्दु नगरपालिकाले काम गरिरहेको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाले दिगोरूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनको कामलाई अघि बढाउन फोहोरसँगै आम्दानीलाई जोडेर हिँडाएको उहाँको भनाइ छ ।  ‘हामीले फोहरलाई केवल फोहरको दृष्टिकोणले मात्रै हे¥यौं ।’ उहाँले भन्नुभयो – ‘मध्यविन्दु नगरपालिका भित्र हामीले संकलन गरेको नकुहिने फोहोरमध्ये ७९ प्रतिशत फोहोरत बिक्रि हुन्छ । कुहिने फोहरबाट हामीले जैविक मल उत्पादन गरिरहेका छौं ।’

गत वर्षदेखि मध्यविन्दु नगरपालिकाले फोहोर व्यवस्थापनको काम सुरु गरेको हो । ‘हामीले फोहोरको व्यवस्थापन गर्न खोजिरहेका छौं कि फोहोरको स्थानान्तरण भन्ने प्रश्नमा धेरै छलफल ग¥यौं ।’ नगर प्रमुख अधिकारीले भन्नुभयो –‘एक ठाउँको फोहोरअर्को ठाउँमा सारेर फोहोर व्यवस्थापन ग¥यौं भन्ने होइन, त्यसको त दीर्घकालिन व्यवस्थापन गर्नुपर्छ भन्नेमा हामी सुरुवात देखि नै सचेत छौं ।’

फोहोरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको हो । मध्यविन्दु नगरपालिकाको पाँच वटा वडाबाट सुरु भएको फोहोरसंकलनको काम हाल सबै वडामा पुगेको नगर उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो ।

सरसफाई प्रवद्र्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालनका लागि नगरपालिकाका छुट्टै इकाई स्थापना गरि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । क्रमशः शहरीकरणको चरणमा रहेको समयमा नै सुरुवात भएको फोहरमैला व्यवस्थापनको कामले भविष्यमा हुन सक्ने सम्भाव्य समस्याहरूलाई कम गर्ने उहाँको विश्वास छ ।

जैविक मल उत्पादनका लागि आवश्यक तत्वहरूको मिश्रणका लागि स्थानीय सामुदायिक वनहरूबाट हरियो घास, सुकेको पातहरू संकलन हुन्छ । जसबाट स्थानीय समुदायको आम्दानीको श्रोत समेत बृद्धि भएको सरसफाई प्रवद्र्धन तथा जैविक मल उत्पादन केन्द्रका संयोजक ई। विवेक पोखरेलले बताउनुभयो ।

कुहिने फोहोरबाट कम्पोस्ट मल तयार गर्नका लागि आवश्यक गोबरको व्यवस्थापनका लागि छाडा चौपाया व्यवस्थापनको कामसमेत सँगै अघि बढाउने योजना नगरपालिकाको रहेको छ । यसका लागि आवश्यक संरचनाहरू निर्माणको चरणमा रहेको संयोजक पोखरेलले बताउनुभयो ।

उत्पादित जैविक मलमा आवश्यक तत्व रहे नरहेको प्रयोगशालामा नियमित परीक्षण हुने कृषि शाखा प्रमुख अक्षय वाग्लेले बताउनुभयो । उत्पादित जैविक मल नगरभित्रका कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको छ ।

समग्रमा कार्यक्रमले फोहोर व्यवस्थापन, रोजगारी सिर्जना, छाडा चौपाया व्यवस्थापन, जैविक मल उत्पादनलाई जोडेको छ । यो सँगै उत्पादित जैविक मलले कृषिमा रासायनिक  मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अर्गानिक उत्पादनलाई समेत सहयोग पु¥याउने छ ।नगरपालिकाले सरसफाई प्रवद्र्धन कार्यलाई व्यवस्थित र नियमन गर्नका लागि सफ्टवेयरको समेत बिकास गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस