कोल्हुवा । नेपालीहरूको महान चाड बडा दशैंको सुरुवातसँगै मध्यविन्दु क्षेत्रमा विभिन्न धार्मिक गतिविधिहरू सुरु भएका छन् । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राख्ने परम्परा अनुसार घरघरमा जमरा राखिएको छ । यसै दिनदेखि नवरात्री पनि सुरु भएको छ ।
मध्यविन्दुका विभिन्न स्थानहरूमा नवरात्रीको पहिलो दिन कलश यात्रा निकालिएको छ । मध्यविन्दु – ३ चौराहामा बिहीबार भव्य रुपमा कलश यात्रा निकालिएको थियो, जसमा सयौं श्रद्धालुहरूको सहभागिता रहेका थिए । यस कलश यात्राले गाउँ र कोल्हुवाको दुर्गा मन्दिर परिक्रमा गरेको थियो ।
मध्यविन्दु वार्ड नं २ कोल्हुवामा पनि कलश यात्रा निकालिएको थियो । स्थानिय शिव न्यौपानेका अनुसार, यस यात्रामा पनि धेरै श्रद्धालुहरूको सहभागिता रहेको थियो । त्यस्तै, मध्यविन्दु वार्ड नं ७ चोरमारामा श्रीमद्देवीभागवत्महापुराण नवाह ज्ञान महायज्ञ आजैबाट सुरु भएको छ ।